Nic Ad Nic Ad
Nic Ad Nic Ad

गाउँगाउँमा पक्की घरको लहर, हराउन थाले परम्परागत दृश्य 

शनिबार, माघ २१, २०७९

गलेश्वर - ढुङ्गा र खरले छाएर रातोमाटो र सेतो कमेरोले पोतिएका चिटिक्कका घर । फराकिलो आँगन । करेसाबारीमा थरीथरीका तरकारी । घर नजिकै अमिलो, अम्बा, कागती र सुन्तलाका बोट । गाउँको यो परम्परागत दृश्य हिजोआज हराउँदै गएको छ ।

ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण कङ्क्रिटका पक्की भवन निर्माण हुनेक्रम बढ्दै गएपछि परम्परागत ढुङ्गे घर पातलिँदै जान थालेका छन् भने  खरले छाएका घर लोप भएका छन् ।

डेढ दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएर रातोमाटो र सेतो कमेरोले पोतिएका घर बाक्लै देखिन्थे । पर्यटकीय जिल्ला म्याग्दीमा विदेश र सहर बजारबाट जोहोकोही गाउँमा पुग्दा ती घरले मनै लोभ्याउने गर्थे ।

रैथाने सीप र स्रोतको प्रयोग गरी परम्परागत रूपबाट निर्माण गरिएका ती घरले धेरैलाई आकर्षित गर्ने गरेको पाइन्थ्यो । उतिबेला गाउँमा यातायातको पहुँच पुगिसकेको थिएन । जब सडक विस्तार भएर गाउँमा यातायातका साधन पुग्न थाले तव रड र सिमेण्टको प्रयोग गरी गाउँमा पक्की घर निर्माणको क्रम बढेको स्थानीय बूढापाकाको भनाइ छ । 

बेनी नगरपालिका–२ बगरफाँट, मालिका गाउँपालिका–७ विम, रघुगङ्गा गाउँपालिका–६ पाखापानीलगायतका विभिन्न बस्तीमा ५ वर्ष अगाडिसम्म गाउँका अधिकांश घर ढुङ्गा र केही खरले छाइएका थिए । अहिले ती बस्तीमा पुग्यो भने सिमेन्टेड पक्की घर र विभिन्न रङ्गका जस्तापाताले छाएका घर रङ्गीचङ्गी देखिन्छन् । कमेरो र रातोमाटोले पोतिएका घर कम पाइन्छ । 

गाउँमा सडक आएपछि गाउँलेले सहर बजारियाले जस्तो सिकेर परम्परागत घरलाई भत्काएर नयाँस्वरुपमा बनाउन थालेको बगरफाँटका बेदप्रसाद उपाध्यायले बताए। 'डेढदशक अगाडिसम्म गाउँमा धेरै जसो घर ढुङ्गा र खरले छाएका थिए, गाडी आउने बाटो थिएन, अहिले ती सबै घर लोप भइसके,' उनले भने ।  

बेनी नगरपालिका–४ सिङ्गामा पनि करिब १ दशक अगाडिसम्म ढुङ्गे घर टन्नै थिए । अहिले ढुङ्गाका घरले भएका ठाउँहरूमा ठूलाठूला कङ्क्रिटका घर ठडिएका छन् । सडक सिङ्गामा नपुग्दा धेरैको घर ढुङ्गाले नै छाएको भए पनि अहिले धेरैजसोले पक्की भवन बनाउन थालेको स्थानीय केशव पौडेलले बताए । 

उनले गाउँमा सडक आएपछि धेरै मानिसले बजारबाट सहज रूपमा घर निर्माण गर्ने सामान ल्याउन सक्ने भएपछि ठूलाठूला भवन बनाउन थालेको बताए। पौडेलले यहाँका धेरैजसो मानिस विदेश भएको हुँदा उनीहरूले गाउँमा परम्परागत घर र ढुङ्गाको घर विस्थापित गरी पक्की घर बनाउन थालेको जानकारी दिए ।

विदेशमा कमाएको पैसा म्याग्दीमा धेरैजसो अनुत्पादक क्षेत्रमा नै खर्च हुने गरेको बैंक तथा वित्तीय संस्थाको तथ्याङ्क छ । सहरी तथा भवन निर्माण आयोजना कार्यालय म्याग्दीका अनुसार मानिस सजग र सचेत हुँदै गएको हुँदा नयाँनयाँ प्रविधि प्रयोग गरेर घर तथा भवन निर्माण गर्न थालेका छन् । परम्परागत घर भूकम्पीय दृष्टिकोणले केही जोखिम हुने भन्दै नागरिकले सचेतता अपनाएर पक्की भवन बनाउन थालेको बताइएको छ । 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्