Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमती प्रदेश : ६ महिनामा ११ अर्ब १९ करोड खर्च

शनिबार, माघ २१, २०७९

बागमती – बागमती प्रदेश सरकारको कूल बजेटमध्ये चालु आर्थिक वर्षको ६ महिनामा ११ अर्ब १९ करोड ६७ लाख ८० हजार खर्च भएको छ ।

बागमती प्रदेश सरकार प्रदेश लेखा नियन्त्रकको कार्यालय  हेटौँडाका अनुसार चालु आवमा ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार बजेट ल्याएको बागमती प्रदेश सरकारले चालु आवको ६ महिनामा ११ अर्ब १९ करोड ६७ लाख ८० हजार खर्च गरेको छ ।  चालु आव २०७९/८० को साउनदेखि पुस मसान्तसम्ममा १५.७८ प्रतिशत कूल खर्च भएको बताइएको छ।

सो अवधिमा सरकारले  १६ अर्ब १५ करोड विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरेको प्राप्त तथ्याङ्कले जनाएको छ । चालु आवको ६ महिनामा उक्त राजस्व सङ्कलन सरकारको खर्चभन्दा बढी देखिएपनि गत आवको तुलनामा कम रहेको छ । गत आवको ६ महिनामा सरकारले ८ अर्ब खर्च गरेको थियो भने सो अवधिमा सरकरले २३ अर्ब राजस्व सङ्कलन गरेको थियो ।

गत आवको सोही अवधिको तुलनामा प्रदेश सरकारको खर्च बढेको छ भने राजस्व सङ्कलनमा २९ प्रतिशतले कम भएको सो कार्यालयले जनाएको छ । सो कार्यालयका प्रमुख लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायका अनुसार प्रदेश सरकारको मुख्य आयस्रोत घरजग्गा रजिष्ट्रेशन, सवारी साधन, मूल्य अधिवृद्धि कर, लोकसेवाको परीक्षा शुल्क, कृषि फार्मको उत्पादन, प्रशासनिक दण्ड जरिवाना, बेरुजु असुललगायत छन् ।

साथै सङ्घीय सरकारबाट प्राप्त हुने मूल्य अभिवृद्धिकर घट्दा प्रदेश सरकारको आम्दानीसमेत कम भएको  तथा घरजग्गाको रजिष्ट्रेशन शुल्क ७ अर्ब अनुमानित रहेकोमा सो शुल्क कम भएकाले पनि आम्दानी कम भएको बताइएको छ । 

सरकारको आम्दानी कम भइरहको र खर्च बढी भइरहको विषयमा अध्ययन भइरहेको उनको भनाइ रहेको छ । ६ महिनामा खर्च भएकोमध्ये ६ अर्ब २१ करोड ८६ लाख १८ हजार ५६३  चालु र ४ अर्ब ३७ करोड ८१ लाख ६१ हजार ८५९ पुँजीगत खर्च हो ।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्