‘टुभेल्थ नाइट’ मञ्चन
काठमाडौँ- प्रसिद्ध साहित्यकार विलियम शेक्सपियरद्वारा १६औँ शताब्दीमा लिखित नाटक ‘टुभेल्थ नाइट’ काठमाडौँ थापा गाउँस्थित पाठशाला स्कुलको थियटरमा मञ्चन गरिएको छ ।
पाठशाला नेपालको प्रस्तुतिमा नाटकलाई ओजस्वी भट्टराई र सौरभ न्यौपानेले मञ्चन गरेका हुन्। अङ्ग्रेजी र नेपाली दुवै भाषामा संवादको समिश्रण रहेको नाटक करिब १ घण्टा १० मिनेट लामो छ ।
यही माघ १३ र १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पाठशाला साँझमा देखाइएको नाटक दर्शकले रुचि राखेकाले शनिबार १ शो देखाइएको आयोजकले जनाएको छ ।
असल पुडासैनी, समिरन चालिसे, सदीक्षा भण्डारी, दर्शना नेपाल, सौर्यनरसिंह थापालगायतका २२ जना कलाकारको अभिनय रहेको ती कलाकार पाठशाला नेपालका कक्षा ८ र ९ का विद्यार्थी हुन् । काल्पनिकता र हाँसोले भरिएको नाटकमा त्रिकोणात्मक प्रेम प्रसङ्गलाई देखाइएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९ ०८:१६
प्रतिक्रिया दिनुहोस्