Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतबाट दैनिक एक करोड युनिट बिजुली आउँदा पनि अपुग, ‘चैत-वैशाखमा झन् गाह्रो हुनसक्ने’

आइतबार, माघ २२, २०७९

नेपालमा यो हिउँदयाम अघिल्लो वर्षको हिउँदको तुलनामा धेरै सुक्खा भएपछि त्यसको प्रत्यक्ष असर विद्युत्‌ उत्पादनमा परेको अधिकारीहरूले बताएका छन्।

नेपालका धेरैजसो जलविद्युत्‌ आयोजना नदीको जलप्रवाहमा आधारित रहेका पृष्ठभूमिमा हिउँदे वर्षा नहुँदा यसपालि नदीहरूमा जल सतह निकै घटेको छ।

नेपाल विद्युत्‌ प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङका अनुसार विगतमा जति हिउँ परेन भने विद्युत्‌ उत्पादनको हिसाबले चैत-वैशाखमा झन् गाह्रो हुनसक्छ।

उत्पादनको अवस्था के छ?

गत वर्षको पुस र माघ महिनाको तुलनामा अहिले २० प्रतिशतले कम बिजुली उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ।

“हाम्रो मात्रै होइन, निजी क्षेत्रबाट हुने विद्युत्‌ उत्पादनको अवस्था पनि त्यस्तै छ। २० प्रतिशत कम उत्पादन हुनु भनेको हाम्रो लागि धेरै नै कम हो,” घिसिङले बीबीसीसँग भने।

निजी क्षेत्र र प्राधिकरणको गरी गत वर्षको यही अवधिको तुलनामा अहिले २०० देखि २५० मेगावाट घटेको उनी बताउँछन्।

“निजी क्षेत्रबाट पोहोरभन्दा ३०० मेगावाट बिजुली थपिएपछि कम्तीमा १२० मेगावाट हुनुपर्ने हो। तर त्यस्तो भएको छैन,” प्रबन्ध निर्देशक घिसिङले थपे।

गत वर्ष माथिल्लो तामाकोसी जलविद्युत्‌ आयोजनाबाट हिउँदको यही समयमा ११० मेगावाट जति उत्पादन हुने गरेकोमा अहिले ८० मेगावाटमा झरेको छ।

त्यो भनेको ४५६ मेगावाट क्षमता भएको आयोजनाले औसतमा दिनभरि ८० मेगावाट मात्र उत्पादन गरिरहेको छ।

“कालीगण्डकी आयोजनाको क्षमता १४४ मेगावाट रहेकोमा अहिले ४० मेगावाट मात्रै उत्पादन भइरहेको छ। समग्रमा एक तिहाइ उत्पादन भएको छ। त्यो भनेको धेरै नै कटौती हो,” बिजुली उत्पादनमा सुक्खा हिउँदको असरबारे उनले भने।

प्रबन्ध निर्देशक घिसिङका अनुसार हिमनदी रहेका केही ठाउँका आयोजनाको उत्पादन कुल क्षमताको ३५ प्रतिशत जति भए पनि समग्रमा ३० प्रतिशत मात्रै रहेको छ।

नेपाल विद्युत्‌ प्राधिकरणका अनुसार देशभरि अहिले ‘पीक हावर’ अर्थात्‌ बिजुली धेरै खपत हुने समयमा १,७०० मेगावाट बिजुलीको माग रहेको छ।

प्राधिकरणका अनुसार कुल मागको ३० प्रतिशत माग भारतबाट आउने बिजुलीले पूरा भएको छ।

“चौबीस घण्टामा तीन करोड युनिटभन्दा बढी खपत हुने गरेकोमा एक करोड भारतबाट आयात भइरहेको छ। औसतमा दैनिक सातदेखि आठ करोड रुपैयाँ बराबरको बिजुली आयात भइरहेको छ,” प्रबन्ध निर्देशक घिसिङले भने।

“हामीले पूर्ण क्षमतामा चलाएर १,२००/१,३०० मेगावाट पुर्‍याउन सक्छौँ अनि करिब ४०० मेगावाट आयात गर्दा पनि पीक आवरमा झन्डै ५० मेवागाट उद्योगहरूलाई पुग्दैन।”

पीक आवरमा अहिले कलरखानाहरूलाई ५०-६० मेगावाट बिजुली कटौती हुने गरेको छ।

करिडोरअनुसार २/३ घण्टा चाहिँ बत्ती जाने गरेको बताउँदै घिसिङले भारतको बिहारबाट गरिने आयातलाई रक्सौल हुँदै मिलाउन खोजिरहेको जानकारी दिए।

“त्यहाँबाट ५० मेगावाट थप्न पायौँ भने हामीले माग पूरा गर्न सक्छौँ,” उनले थपे।

अब पानी पर्‍यो भने पनि त्यसबाट तत्काल बिजुली उत्पादन नबढ्ने प्रबन्ध निर्देशक घिसिङ बताउँछन्।

“बरु अहिले हिउँ पर्‍यो भने हिमालबाट हिउँ पग्लेर आउँदा हामीलाई चैत-वैशाखमा राम्रो हुन्छ,” उनले भने।

निजी क्षेत्रका उत्पादकहरू पनि हिउँदमा भएको सुक्खाका कारण बिजुली उत्पादनमा विगतमा भन्दा बढी असर परेको स्वीकार्छन्।

“पोहोर, परार यही समयमा हाम्रा खोला नदीमा प्रशस्त पानी हुन्थ्यो र हामीले प्रतिबद्धता जनाएकोभन्दा बढी बिजुली दिने गरेका थियौँ,” स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका प्रमुख कार्यकारी अधिकृत सैलेश मिश्रले बीबीसीसँग भने।

उनका अनुसार प्राधिकरणको माथिल्लो तामाकोसी आयोजनाको ४५६ र चिलिमे आयोजनाको २२ मेगावाट समेत गरी अहिले कुल क्षमता १,६९३ मेगावाट हो।

जलवायु परिवर्तनका कारण वर्षा हुने प्रवृत्ति फरक हुन थालेको विज्ञहरूले बताउने गरेको भन्दै मिश्र भविष्यमा बिजुली उत्पादनमा नकारात्मक असर पर्ने जोखिम औँल्याउँछन्।

यद्यपि अहिले निर्माणाधीन परियोजनाबाट सन् २०२७ सम्म ३,२०० मेगावाटभन्दा बढी बिजुली थपिने भएपछि यो अवस्थाको अन्त्य हुने उनको विश्वास छ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  ०८:३१
प्रतिक्रिया दिनुहोस्