नेभिगेशन
समाज विविध

‘नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउन सकिन्छ’

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिने बताएका छन् । 

आइतबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले गरेको शैक्षिक छलफल तथा शिक्षामन्त्रीको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि विदेश पठाउने नभई विदेशबाट विद्यार्थीहरू नेपाल ल्याउन सक्ने गरी नीति, निर्माण गर्नुपर्ने बताए । प्राथमिक र आधारभूत तहमा नै शैक्षिक गुणस्तरको विकास गर्नुपर्ने भन्दै उनले नेपाल भौगोलिक बनावटका आधारमा पनि शैक्षिक हब बन्न योग्य रहेको जनाए । 

सोहीअनुरूप शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउँदै लैजानुपर्ने आवश्यक्ता रहेको उनको भनाइ छ ।

‘नेपालको भौगोलिक बनावटको फाइदा लिँदै इन्टरनेसनल एजुकेसन हब बन्न सक्छ । त्यो हब निर्माण गर्ने भिजनसहित विदेशमा विद्यार्थी एक्सपोर्ट गर्ने नभई विदेशी विद्यार्थी भित्र्याउन सक्ने वातावरण निर्माण गर्न आवश्यक छ,’ उनले भने । 

मन्त्री खनालले आगामी दिनमा निजी शिक्षालाई प्रवद्र्धन गर्न आवश्यक नीति नियम स्पष्ट हुन आवश्यक रहेको पनि बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध