Nic Ad Nic Ad
Nic Ad Nic Ad

अयोध्या लगिएको देवशिला उत्खनन स्थलमा उद्यान बनाइने

आइतबार, माघ २२, २०७९

म्याग्दी - भारतको अयोध्यामा निर्माणाधीन भगवान् श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खनन स्थलमा उद्यान बनाइने भएको छ । 

धार्मिक स्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी २ किनारबाट दुइटा शिला अयोध्या र एउटा जनकपुर लगिएको थियो ।

गण्डकी प्रदेश सरकारले मधेस र मधेस प्रदेशले संघीय सरकारमार्फत भारत सरकारलाई उपलब्ध गराएको शिला निकालिएको ठाउँमा उद्यान बनाउने तयारी गरेको नगरपालिकाले जनाएको छ । 

नगर उपप्रमुख ज्योति लामिछानेले देवशिला निकालिएको ठाउँको संरक्षण र प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न स्मारकसहितको उद्यान बनाउन लागिएको जानकारी दिए । 

'मुक्तिनाथ र मुस्ताङ जाने-आउने पर्यटक तथा तीर्थयात्रीलाई लक्षित गरेर देवशिला उत्खनन स्थलको संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छौँ, आर्थिक स्रोतको खोजी र पूर्वाधारको सम्भाव्यता अध्ययनमा जुटेका छौँ,' उनले भने । 

देवशिला उत्खनन भएको गलेश्वर क्षेत्रलाई हिन्दू तथा बाैद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । देवशिला लगिएपछि भारतबाट आएका तीर्थयात्रीले स्नान र अवलोकन गर्न थालेका छन् ।

हिन्दुको प्रसिद्ध धार्मिक स्थल अयोध्यामा भगवान् श्रीरामको बालरूपको मूर्ति निर्माण गर्न शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको शिला लगिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिक टन तौल भएका, ७ फिट लम्बाइ, ५ फिट चौडाइ तथा साढे ३ फिट मोटाइका दुइटा शिला उपहार दिइएको हो ।

नगर प्रमुख सुरत केसीले देवशिला लिन आएका रामलीला मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलगायतले स्मारक र उद्यान निर्माणमा सघाउने प्रतिबद्धता जनाएको बताए । 

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर आर्थिक स्रोत जुटाउन प्रस्ताव गरिने उनले बताए । स्मारक र उद्यानका साथै कालीगण्डकी नदीमा स्नान स्थल बनाउने योजना छ ।

कालीगण्डकी नदीका अध्येता कुलराज चालिसेले देवशिला उत्खनन स्थल नजिकै फोहाेर फाल्ने ठाउँ स्थानान्तरण गर्नुपर्ने बताए । 

देवशिला अयोध्या लैजान समन्वय गरेका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले यो क्षेत्रको धार्मिक पूर्वाधार निर्माणमा सघाउन रामलीला मन्दिर निर्माण समिति र भारत सरकारले प्रतिबद्धता जनाएको बताएका थिए । 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्