नेभिगेशन
समाचार
संसद्‍मा चित्रबहादुर केसीको दाबी

प्रधानमन्त्री पुष्पकमल होइनन्, केपी ओली नै हुन्

काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नभई केपी शर्मा ओली नै भएको दाबी गरेका छन् ।  

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा बोलेको विषय सुन्दा प्रधानमन्त्री पुष्पकमल नभएर केपी ओली नै भएको बताए । 

‘पूर्वप्रधानमन्त्रीले जे बोल्नुभयो, त्यसले नयाँ आएका व्यक्तिलाई आश्चर्य लाग्न सक्छ । उहाँले रणभूलमा पार्न सक्नुहुन्छ । प्रवासमा बस्नेहरूको सन्दर्भमा गोहीको आँसु चुहाउनुभयो । उहाँको सबै बोलीबाट सरकारको प्रधानमन्त्री पुष्पकमल होइन, उहाँ (ओली) नै हो’, केसीले भने । 

नेपाली कांग्रेसले राष्ट्रपतिमा दाबी गरिरहेका कारण ओलीको सातो गएको पनि केसीले सुनाए । 

‘नेपाली कांग्रेसले राष्ट्रपतिमा जुल्कीमुल्की गरेको हुनाले सातोपुत्लो गएको छ’, केसीले भने, ‘प्रचण्डले सहमतिमा जानुपर्छ भनेर प्रस्ताव ल्याउनुभएको छ । उहाँ (ओली) त २६ गते नै आतंकित हुनुभयो ।’

प्रवासमा बस्ने नेपालीलाई मतदानको अधिकार दिने विषयमा कुरा गरेर ओलीले गोहीको आँसु चुहाएको पनि केसीले बताए ।  

रवि लामिछानेको नागरिकताबारे सर्वोच्चको फैसलामाथि ओलीले प्रश्न उठाएको सन्दर्भ उल्लेख गर्दै केसीले प्रश्न गरे, ‘सर्वोच्च अदालतको फैसला उहाँले पालना गर्नुभयो ?’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार