बिजेपीको उदाहरण दिँदै माधव नेपालले भने : सबै पार्टीलाई उछिन्ने अवधारणामा अघि बढेका छौं
काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अरु सबै पार्टीलाई उछिन्ने अवधारणा सहित पार्टी अघि बढिरहेको बताएका छन् ।
केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेपालले पार्टी अहिले लिएको अवधारणाले सबै पार्टीलाई पछि पार्ने दावी गरेका हुन् ।
उनले भारतीय जनता पार्टीको उदाहरण दिदैं भने, ‘पहिला चार सीट ल्याएको बिजेपी अहिले भारतमा पुरै हावी भएको छ ।’
२०१५ सालमा दुई तिहाइभन्दा बढी ल्याएको नेपाली कांग्रेस अहिले कम्युनिष्टहरुभन्दा कमजोर बनेको उदाहरण पनि नेपालले सुनाए ।
पार्टीलाई एकताबद्ध बनाएर जानेमा कुनै मतभेद नरहेको पनि उनले प्रष्ट पारेका छन् ।
‘नेताहरुको बीचमा खटपट सुरु भइसक्यो भन्ने तपाईंहरुलाई लागेको होला । छैन तर, भइहाल्यो भने पनि आत्तिनुपर्ने केही छैन । यो पचास वर्षे इतिहासमा हामी अनेकौं उतारचढावहरुलाई पार गर्दै अगाडि बढेका छौँ’, नेपालले भने ।
कम्युनिष्ट आन्दोलनभित्रै देखिएको विकृतिका कारण नेपालमा कम्युनिष्ट पार्टी स्थापित हुन नसकेको नेपालको विश्लेषण छ ।