नेभिगेशन
समाचार

एकीकृत समाजवादीको महाधिवेशन २०८० फागुनमा, एमालेसँग एकता नगर्ने  निर्णय

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीले २०८० को फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । 

आइतबार सम्पन्न केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकले आगामी २०८० साल फागुन महिनाभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय जानकारी गराउँदै प्रवक्ता खतिवडाले भने, ‘संगठनलाई सुदृढीकरण गर्न आगामी जेठ महिनासम्म पुग्दा प्रदेशको कमिटीहरुको पूनर्गठन भइसक्नेछन् । अर्को वर्षको फागुन भित्रमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने कार्ययोजना दिएका छौं ।’

आगामी जेठ महिनासम्ममा स्थानीय कमिटीदेखि प्रदेश कमिटीसम्मको गठन, पुनर्गठनलगायतका सम्पूर्ण कामहरु सम्पन्न गर्ने निर्णय बैठकले गरेको खतिवडाले बताए । 

त्यसपछि भने पार्टीको राष्ट्रिय महाधिवेशनमा केन्द्रीत हुने बैठकले गरेको उनले जानकारी दिए । 

त्यसअवधिमा अन्य वामपन्थी पार्टीहरुलाई एकीकृत गर्ने काममा पनि लाग्ने उनले बताए । ‘एउटा असल कम्युनिष्ट पार्टीको नाताले वामपन्थी शक्तिहरुलाई जुटाउने जिम्मेवारी पनि हाम्रै काँधमा छ। यो दिशामा जनुपर्छ भन्ने दिशामा हामी अघि बढ्दैछौं’, खतिवडाले भने । 

एमालेसँग एकता नगर्ने 

२ दिनसम्म चलेको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले नेकपा एमालेसँग पार्टी एकता नगर्ने निर्णय गरेको छ । 

एकीकृत समाजवादी नेकपा एमालेबाटै फुटेर बनेको पार्टी हो । 

पार्टी  निर्णयबारे जानकारी दिदैं खतिवडाले भने, ‘एमालेसँग अहिले एकताको कुनै सम्भावना छैन । त्यस विषयमा हाम्रो कुनै संवाद पनि छैन ।’ उनले राष्ट्रपतिको निर्वाचनमा विपक्षी गठबन्धन जहाँ हुने आफूहरु पनि त्यही रहने प्रष्ट पारे ।

एकीकृत समाजवादीले आगामी निर्वाचनमा स्थानीयतहसम्म नै उम्मेदवार उठाउने गरी संगठन विस्तार गर्ने निर्णय पनि गरेको छ । 

‘अब करिब ४ वर्षमा निर्वाचन हुन्छ । त्यसमा हाम्रो पार्टी देशव्यापी रुपमा सबै वडाहरुमा कलम चिन्ह लिएर जानेछ । केन्द्रीय कमिटीको बैठकले यही संकल्प गरेको छ’, खतिवडाले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार