पर्यटनमन्त्री किराती लुम्बिनीमा, गुरुयोजना पहिलो प्राथमिकता
काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आज लुम्बिनी आएका छन् । लुम्बिनीको दर्शन गर्न उहाँ पहिलोपटक यहाँ आएको हो ।
‘सानैदेखि लुम्बिनीका बारेमा सुनेको, पढेको थिएँ तर भौतिक रुपमा आउन पाएको थिएन’, मन्त्री किरातीले भने, ‘समग्रमा लुम्बिनी राम्रो लाग्यो ।’ उनले मायादेवी मन्दिरको दर्शन गरी दीप प्रज्वलनसमेत गरे ।
लुम्बिनी भ्रमणपछि सञ्चारकर्मीसँग मन्त्री किरातीले लुम्बिनी गुरुयोजनालाई पहिलो प्राथमिकतामा राखी अगाडि बढ्ने बताए । उनले गुरुयोजना धेरै पछाडि परेको उल्लेख गर्दै यसलाई पूरा गर्न निर्देशन दिए ।
लुम्बिनी गुरुयोजनाभन्दा बाहिर गएर काम गर्ने साहस नगर्न उनले कोषका पदाधिकारीलाई चेतावनीसमेत दिए । ‘सबभन्दा पहिला हामीले लुम्बिनी गुरुयोजना पूरा गर्नुपर्ने हुन्छ, तोकिएका समयभन्दा २८ वर्ष बढी किन लम्बियो भन्ने मेरो चासो रहेको छ’, किरातीले भने ।