नेभिगेशन
अर्थ विविध

वीरगञ्ज भन्सारद्वारा ७६ अर्ब ६३ करोड राजस्व सङ्कलन

वीरगञ्ज - पर्साको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा लक्ष्यको ६१ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

 चालु आवको साउनदेखि पुससम्ममा  १ खर्ब २२ अर्ब ७७ करोड १८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ६१ दशमलव २७ प्रतिशत अर्थात् ७६ अर्ब ६३ करोड ४ लाख राजस्व सङ्कलन भएको भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिए । 

उनका अनुसार सो भन्सार कार्यालयको चालु आवमा २ खर्ब ६१ अर्ब ९९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य छ । हालसम्म वार्षिक लक्ष्यको ५१ प्रतिशत राजस्व सङ्कलन भएको सूचना अधिकृत ढकालले बताए।

भन्सार कार्यालयले गत आव २०७८/७९ मा लक्ष्यको ९३ प्रतिशत र आव २०७७/७८ मा लक्ष्यको ९७ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । चालु आवमा पनि लक्ष्यानुसार राजस्व सङ्कलन हुने सम्भावना कम रहेको सूचना अधिकृत ढकालको भनाइ छ ।

समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तुको आयातमा प्रतिबन्ध तथा ‘एलसी‘ खोल्नमा कडाइ गरिएकाले पनि राजस्व सङ्कलन घटेको सूचना अधिकृत ढकालले बताए ।

सरकारले मदिरा, मोबाइल, गाडीको आयात खुला गरे पनि आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी २ महिना यस्तै अवस्था हुने उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध