नेभिगेशन
अर्थ विविध

तोरीको उत्पादन बढ्ने भएसँगै किसानमा थपियो उत्साह

कावासोती– पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीकोे रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ ।

यस वर्ष मल तथा बिउको अभाव, सिँचाइको समस्या तथा रोग र किराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका सूचना अधिकारी शंकर पौडेलले बताए ।

विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा कमी आए पनि यस वर्ष उत्पादन बढ्ने भएपछि तोरी खेती गर्ने किसानसमेत खुसी भएका छन् । उनका अनुसार जिल्लामा यस वर्ष १ हजार १८५ हेक्टर जमिनमा तोरी खेती गरिएकामा १ हजार २८५ मेट्रिक टन तोरी उत्पादन हुने अनुमान छ ।

गत वर्ष जिल्लामा १ हजार १३५ हेक्टर जमिनमा १ हजार २३७ मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

तोरी खेतीका लागि पकेट क्षेत्र मानिएका स्थानीय तहहरू कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोटमा तोरी उत्पादन बढ्ने देखिएको हो ।

विशेष गरी चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीमा हिउँदे खेतीका रूपमा गरिने गहुँ खेती गैँडालगायत वन्यजन्तुले नष्ट पार्ने क्रम केही वर्षयता बढेसँगै किसान तोरी खेतीतर्फ आकर्षित भएका हुन् ।

पछिल्लो समय तेलको मूल्य दोब्बरको हाराहारीमा वृद्धि भएसँगै किसानले घरायसी प्रयोगका लागि तोरी खेती गर्न लागेको सूचना अधिकारी पौडेलले बताए । 

तेलसँगै किसानले उत्पादन गरेको तोरीको मूल्य पनि बढेको र वन्यजन्तुले पनि कम क्षति पु¥याउने भएकाले तोरी खेती गर्ने किसानको संख्या बढेको सूचना अधिकारी पौडेलको भनाइ छ । 

जिल्लामा तोरीसँगै यस वर्ष अर्को तेलहन बाली सर्स्युँको उत्पादन पनि बढ्ने देखिएको छ । यस वर्ष जिल्लामा १ हजार २६० हेक्टर जमिनमा १ हजार ७१५ मेट्रिक टन सर्स्युँ उत्पादन हुने अनुमान गरिएको सूचना अधिकारी पौडेलले बताए ।

उनका अनुसार गत वर्ष जिल्लामा १ हजार २७० हेक्टर जमिनमा १ हजार ७०८ मेट्रिक टन सर्स्युँ उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्रलगायत जिल्लाका स्थानीय तहले किसानका लागि प्राविधिक सहयोगको व्यवस्था गरेका तथा सिँचाइ, मल र बीउको सहज उपलब्धता तथा रोगको प्रकोप घटेको र मौसमले साथ दिएका कारणले तोरीलगायत तेलहन बालीको उत्पादन बढेको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध