सुपारमाई हाइड्रोपावरको आइपिओ खुला
काठमाडौँ – सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजनाबाट पीडित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरिसकेकामा आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय अङ्कित दरमा ४ लाख १५ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ५० करोडको १० प्रतिशतले हुने ५ करोड मूल्य बराबरको कूल ५ लाख कित्ता साधारण शेयरमध्ये ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र १० हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी ४ लाख १५ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको जनाएको छ ।
उक्त कम्पनीले निष्कासन गरेको शेयरमा लगानीकर्ताले छिटोमा यही माघ २६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत र ‘मेरो शेयर’बाट आवेदन दिने सक्ने कम्पनीले जनाएको छ । कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएनपी आईआर बिबिबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।
उक्त कम्पनीले इलामको इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाको सीमा नदी ‘माई खोला’मा ७.८ मेगावाट क्षमताको सुपरमाई हाइड्रोपावरको निर्माण गरेको छ।