नेभिगेशन
समाज विविध

अबैध बालुवाको तस्करी रोक्न वडा कार्यालयको निगरानी

कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका-१२ स्थित दोदा नदीबाट बालुवा अबैध रुपमा उत्खनन् हुन थालेपछि वडा कार्यालयले निगरानी बढाएको छ । नदीबाट रातको समयमा बालुवा अबैध रुपमा उत्खनन् हुन थालेपछि निगरानी बढाइएको हो । 

बालुवाको जथाभावी उत्खनन् हुन थालेपछि प्रहरीसँगको समन्वयमा विशेष गरी राति २ बजेदेखि ४ बजेसम्म निगरानी बढाइएको वडा अध्यक्ष नवलसिंह रानाले बताए ।

'धेरै पटक अबैध रुपमा बालुवा उत्खनन् गरेको पाइएपछि प्रहरीलाई खबर गरी बालुवा उत्खनन् रोकेका छौँ, दिउँसो बालुवा उत्खनन् गर्न नपाइने भएपछि रातको समयमा बालुवा उत्खनन्को हुन थालेको छ,' उनले भने । 

उनका अनुसार अबैध रुपमा बालुवा उत्खनन् हुँदा भू–क्षय हुनबाट जोगाउन नदीमा लाखौँ रकम खर्चेर निर्माण गरिएको तटबन्ध जोखिममा परेको छ । नदी गहिरिँदै गएपछि तटबन्ध भत्कने अवस्थामा पुगेको छ । जथाभावी बालुवा उठाइदा नदीको गहिराई दुई फिट बढेको अध्यक्ष रानाको भनाइ छ । 

'वातावरणीय प्रभाव मूल्याङ्कन गरी नदीको बालुवा वैधानिक रुपमा उत्खननका लागि ठेक्का प्रक्रियामा जानुपर्छ, यसबारे नगरपालिकामा कुरा उठाएका छौँ, अहिलेसम्म सुनवाइ भएको छैन,' अध्यक्ष रानाले भने ।  

अबैध रुपमा बालुवा उठाएर लैजादा नगरपालिकालाई लाखौ रकम बराबरको राजस्व गुमेको छ ।

बालुवा बस्ती नजिकका क्षेत्रबाट उठाइने भएकाले जोखिम बढदै गएको स्थानीय घुम्मन रानाको भनाइ छ । 'बालुवाको तस्करी नरोकिए आउदो वर्षातमै धेरै ठाउँमा तटबन्ध भत्किएर बाढीको पानी बस्तीमा छिर्ने सम्भावना बढेर गएको छ,' उनले भने। 

उनका अनुसार दैनिक नदी क्षेत्रबाट २ दर्जन बढी ट्रयाक्टरमा अबैध रुपमा बालुवा उत्खनन् भइ तस्करी हुने गरेको छ । नगरपालिका क्षेत्रभित्र पर्ने नदीबाट लालझाडी गाउँपालिकाले २ वर्ष ठेक्का सम्झौता गरी बालुवा उत्खनन् गरेको स्थानीयको भनाइ छ । चालु आर्थिक वर्षमा भने गाउँपालिकाले टेण्डर आह्वान गरेको छैन । 

दोदा नदी शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिको सीमा नदी हो । दुवै पालिकाले नदी क्षेत्रको सिमाङ्कन गर्नुपर्ने वडा अध्यक्ष रानाको तर्क छ । 

'नदीजन्य पदार्थको उत्खनन् गरी लाखौं राजस्व सङ्कलन गर्न सकिन्छ, बजेटका लागि सङ्घ र प्रदेश सरकालाई गुहार्नु पर्दैन,' उनले भने । 

यसैगरी सनवोरा नदी क्षेत्रको कलुवापुर र पिपलाडी क्षेत्रबाट समेत अबैध रुपमा बालुवा उत्खनन् भइरहेपनि नियन्त्रणको प्रयास भने भएको छैन । नदी तटीय क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुले आफनो जग्गा नदीको बाढीले बगाएकाले नदीको बालुवा बिक्री गर्दै आएको बताउदै आएका छन् ।

नगर प्रमुख रणबहादुर महराले आगामी आवमा नगरपालिका क्षेत्र भित्रका सबै नदीहरुको वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य गरी गाउँ बस्ती र वातावरणलाई असर नपर्ने ठाउँमा नदीजन्य पदार्थ उत्खनन्का लागि टेण्डर आह्वान गरी ठेक्का सम्झौता गरिने बताए। 

दोदा नदीमा नदीजन्य पदार्थ उत्खनन्का लागि लालझाडी गाउँपालिकासँग समन्वय गरिने उनको भनाइ छ । अबैध भइरहेको बालुवाको तस्करी रोक्नका लागि काम अघि बढाइने उनले उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध