नेभिगेशन
समाज विविध

मिडिया विधेयक तत्काल अगाडि बढाउने तयारीमा छौं : सञ्चारमन्त्री शर्मा

काठमाडौँ –सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहति अघि बढेको बताएकी छन् ।

सोमवार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले संसदमा पेस गर्न बाँकी मिडिया विधेयक सहितलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको बताइन् । त्यसको लागि तत्काल सरोकारवाला निकायहरूले आवश्यक सल्लाह सुझावहरु मन्त्रालयलाई दिन पनि मन्त्री शर्माले आग्रह गरिन् ।

आमसञ्चार क्षेत्रका लागि बनेका कानूनहरु अधिकांश पुराना भएकाले वर्तमान अवस्थाका आधारमा कानूनहरु परिमार्जन गर्न आवश्यक रहेको र सरकार सकारात्मक रहेको उनको भनाइ छ । मन्त्री शर्माले आमसञ्चार क्षेत्रलाई आवश्यक ऐन, कानून बनाउँदा सरोकारवाला निकायहरूसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको पनि जानकारी दिइन् ।

आमसञ्चार क्षेत्रको विकास, समृद्धि र सबलिकरण हुनु भनेको राज्यको सबलिकरण हुनु सरह रहेको भन्दै उनले देशको राजनीतिक परिवर्तन र पत्रकारिता अभिन्न अंगका रुपमा जोडिएकोले राजनीति र पत्रकारिता सहकार्यले मात्रै मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन सम्भव भएको धारणा राखिन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध