नेपाल–भारत रेल सञ्चालनको माग गर्दै २ देशका स्थानीय आन्दोलित
सुनसरी –नेपाल–भारत रेल सेवा सञ्चालनको माग गर्दै सीमावर्ती क्षेत्र कोशी ब्यारेजका दुवै देशका स्थानीयले आन्दोलन गर्ने भएका छन् ।
सुनसरीस्थित कोशी ब्यारेजस्थित नेपाल–भारत सीमामा बसेको २ देशीय प्रतिनिधिहरूले रेल सेवा सञ्चालनको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेका हुन् ।
रेल सेवा सञ्चालनको लागि भारतीय पक्षले नेपाल पक्षको समेत समर्थन जुटाएर संयुक्त रूपमा आन्दोलन गर्ने भएका छन् । सन् २०११ मा सम्पन्न कोशी सम्झौता अनुसार २०१६ देखि २०४० सम्म भारतको भीमनगर हुँदै धरानको फुस्रेसम्म सञ्चालित रेल्वे ट्रयाक प्रयोग गरी पुनः रेल सञ्चालनमा ल्याउन दबाब सिर्जना गर्ने गरी आन्दोलन गर्न लागिएको भारतीय रेल आन्दोलन संघर्ष समितिका अध्यक्ष मोहनप्रसाद रस्तागीले बताए ।
प्रदेश १ का पूर्व पर्यटन मन्त्री जगदिश कुसियतले नेपाल—भारत संयुक्त रेल सेवा आन्दोलनको आवश्यकता महशुस भएकाले संयुक्त आन्दोलनमा उत्रन लागेको बताए । उनले धार्मिक पर्यटनसँगै रोजगारी र विकासका लागि २ देशीय रेल सञ्चालन आवश्यक रहेको जिकिर गरे ।
भीमनगरसम्म रेल मार्ग जोडिनुपर्ने भन्दै एक दशकयता त्यस क्षेत्रका बासिन्दा भारत सरकार विरुद्ध सङ्घर्षमा छन् । कोशी ब्यारेजमा सम्पन्न भारतको वीरपुर, भीमनगर, बसमतीयासहित सीमावर्ती क्षेत्रका पूर्व सांसद, विधायक, सरोकारवाला र मुखिया सम्मिलित भेलाले भारतीय संघर्ष समितिलाई बिस्तार गरी अघि बढ्ने निर्णय गरेको छ ।
कोशी प्रोजेक्ट अन्तर्गत भारतले सुनसरी र सप्तरीको सीमानामा पर्ने भीमनगरदेखि धरानको रेल्वे लाइन र चकरघट्टीदेखि चतरासम्म ४७ किलोमिटर रेल सञ्चालनमा ल्याएको थियो । त्यस बखत कोशीब्यारेज पुल बनाउन ढुङ्गा ओसार्न भारतको भीमनगरबाट छुट्ने रेलका लागि नेपाल तर्फको कुशाहा, मधुवन, चक्रघट्टी, चतरा, बाङ्गे र घोपा क्याम्पमा रेल स्टेशन राखिएको थियो ।