नेभिगेशन
समाज विविध

चक्रपथबाहिर मेलम्चीको पानी वितरण गर्न २४ अर्ब रुपैयाँ आवश्यक

काठमाडौँ– काठमाडौँ खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले काठमाडौँ उपत्यकाको चक्रपथबाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण गरिदिन अत्यधिक माग आएको बताएका छन् । 

सोमबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले काठमाडौँ उपत्यकाको चक्रपथबाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी वितरण गरिदिन अत्यधिक माग आइरहेको र माग सम्बोधन गर्न अनुमानित २४ अर्ब वित्तीय स्रोत आवश्यक देखिएको बताए ।

काठमाडौँ उपत्यकामा हाल नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लाइन भूमिगत गर्ने कार्य भइरहेको र कतिपय स्थानमा सडक साँघुरो हुँदा बिछ्याइसकिएको खानेपानीको पाइप तथा विद्युत् लाइन भूमिगत गर्ने क्रममा आवश्यक सुरक्षित दुरी कायम हुन नसकेको उनले बताए ।

भविष्यमा त्यस्ता स्थानको मर्मतसम्भार गर्दा समन्वय तथा सावधानी अपनाउन आवश्यक रहेको भन्दै उनले नयाँ पाइपलाइन बिछ्याएपछि पानी पठाउने क्रममा केही समस्या र चुनौती आएको बताए ।

नयाँ वितरण प्रणाली परीक्षण गर्ने क्रममा विभिन्न स्थानमा तेस्रो पक्षबाट सडक तथा ढल निर्माण तथा मर्मत र विद्युत लाइन तथा टेलिफोनका तार भूमिगत गर्ने क्रममा बिछ्याइएका थोक तथा वितरण सञ्जालका पाइपलाइनमा क्षति भएको तथा पानी परीक्षण र वितरण हुँदा यस्ता पाइपहरूबाट पानी चुहावट हुने गरेको पाइएको उनको भनाइ छ । 

त्यसरी क्षति भएका खानेपानी पाइपलाइनको ममर्त गर्न अतिरिक्त समय र स्रोत परिचालन गर्नुपर्ने आवश्यकता देखिएको उनले जनाए ।

मेलम्चीको पानी दोस्रो चरणमा नेपाल सरकारको आफ्नै स्रोतबाट चक्रपथभित्र बाँकी रहेका स्वयम्भू, बालुवाटार, महाराजगन्ज, धुम्बाराही आदि स्थान र चक्रपथबाहिरका मण्डिखाटार, कपन, चाबहिल, बौद्धको दक्षिणी भाग गरी करिब ८०० किलोमिटर पाइपलाइन बिछ्याउने कार्य भइरहेको उनले जनाए । 

यसमध्ये हालसम्म करिब ४३० किलोमिटर पाइपलाइन बिछ्याउने काम सम्पन्न भएको र बाँकी पाइपलाइन आगामी आर्थिक वर्षभित्र बिछ्याई परीक्षण सुरु गर्ने लक्ष्य रहेको उनको भनाइ छ । 

उनले अहिले सम्भव भएका स्थानमा सडक खन्नु नपर्ने प्रविधि (एचडिडी) बाट पाइप बिछ्याउने कार्य गरिरहेको बताए । चक्रपथ बाहिरका खुमलटार, ग्वार्को, नखिपोट, धापाखेल, सुनाकोठी, भैँसेपाटी, बागडोल, सूर्यविनायक, मूलपानी, इमाडोल, महालक्ष्मी, नागार्जुन नगरपालिका, धापासी, स्युचारटारलगायत स्थानमा करिब १६ सय ५० किलोमिटर पाइपलाइनको सर्वेक्षण तथा डिजाइन भइरहेको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले दोस्रो पटक मेलम्चीको पानी गत मंसिर २३ गते वितरण भएपछि लिमिटेडले राखेको रेकर्डअनुसार करिब ११ सय वटा चुहावट मर्मत गरेको बताए ।

उनले अहिले पनि पुरानो पाइपलाइनबाट नै पानी वितरण भइरहेको भन्दै पुरानो वितरण सञ्जाल तत्कालीन आवश्यक्तालाई ध्यानमा राखेर मात्रै सञ्चालन गरिएको बताए ।

उनले मेलम्चीको पानी वितरण सञ्जालको साइजको कारण सबै घरधुरीमा समानुपातिक रूपमा पानी वितरण गर्न नसकेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध