Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रभु बैंकका सीईओ शेरचनको नियुक्ति बदर नहुने

सोमबार, माघ २३, २०७९

काठमाडौँ –प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको नियुक्ति बदर नहुने भएको छ । 

उच्च अदालत पाटनका न्यायधीशद्वय श्यामजी प्रधान र अमृतबहादुर बस्नेतको संयुक्त इजलाशले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।  

प्रभु बैंकले शेरचनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’ विपरीत नियुक्त गरेको भन्दै अधिवक्ता अनिता थापा केसीले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेकी थिइन् । 

प्रभु बैंकको सञ्चालक समितिले माघ १५ गते ४ वर्षको लागि शेरचनलाई पुनः सीईओ पदमा नियुक्त गरेको थियो । 

शेरचन २०७१ साल फागुनमा प्रभु बैंकको सीईओ नियुक्त भएका थिए । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ ले प्रमुख कार्यकारी अधिकृत पदमा लगातार २ कार्यकाल भन्दा बढी नियुक्त गर्न नपाइने व्यवस्था गरेको छ । 

२०७३ सालमा आएको ऐन अगाडि नियुक्त भएका व्यक्तिको हकमा कार्यकाल कुन आधारमा गणना गर्ने भन्नेमा विवाद थियो । 

प्रभु बैंकले सेञ्चुरी बैंकलाई हालै मात्र गाभेको थियो । 

एकीकृत कारोबारपछि बनेको सञ्चालक समितिको बैठकले शेरचनलाई चार वर्षसम्मको लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

उच्च अदालत पाटनले शेरचनको नियुक्ति विरुद्धमा अन्तरिम आदेश नदिएको कारण चारवटा वाणिज्य बैंकका सीईओको कार्यकालको विवादसमेत सकिएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्