मधेसमा ३० महिनामा ३६० बालिकाले गुमाए जीवन
काठमाडौँ– रुपन्देहीकी अंगीरा पासी एक गैरदलित युवकबाट बलात्कृत भइन् । घटना बाहिर आउने डरले त्यहाँका पञ्चायतले मिलापत्र गरेर उनीहरूको विवाह गरिदिए । तर, युवकको परिवारले युवती दलित भएकै कारण बुहारीका रूपमा स्वीकार गर्न मानेन ।
परिवारले अस्वीकार गरेपछि भोलिपल्ट रूखमा झुन्डिएको अवस्थामा उनको शव पेला पर्याे । कोरोना महामारीका कारण लकडाउन भएको समयको घटना हो यो ।
२ वर्षअघि सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा १ बालिकामाथि (नाम नखुलाइएको) जबरजस्ती करणी भयो । तर, त्यहाँका बासिन्दाले कुरा फैलिन्छ भन्दै मिलापत्र गरेर उनीहरूको विवाह गरिदिए । २ दिनपछि उनले पनि आत्महत्या गरिन् ।
तराई र भित्री मधेसमा बालबालिकाले गर्ने आत्महत्याको कारण बताउने यी २ वटा प्रतिनिधि घटना हुन् । पछिल्ला दिनमा मधेसमा बालिकाको आत्महत्या दर बढिरहेको तथ्यांकले देखाउँछ ।
मधेस प्रदेश प्रहरी कार्यलयबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक वर्ष ०७९/८० को मंसिरसम्ममा मधेस प्रदेशका ८ वटा जिल्लामा मात्रै ५१ बालिकाले आत्महत्या गरेका छन् ।
त्यस्तै, आर्थिक वर्ष ०७८/७९ मा (अघिल्लो १ वर्षमा) मात्रै १७६ जना बालिकाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष ०७८/७९ मा भने मधेस प्रदेशमा मात्रै १६४ जना बालिकाले आत्महत्या गरेका थिए ।
तथ्यांक हेर्दा झुन्डिएर आत्महत्या गर्नेको संख्या धेरै छ । चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि मंसिरसम्म)मा ४७ जना बालिकाले झुन्डिएर आत्महत्या गरेका छन् ।
गत आर्थिक वर्ष ०७८/७९ मा मधेसमा मात्रै १४५ जना बालिकाले झुन्डिएर आत्महत्या गरेको तथ्यांक छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार आत्महत्या गर्ने यी सबै बालिका १८ वर्षभन्दा कम उमेरका हुन् ।
मधेसमा बालिकाको आत्महत्या बढ्नुमा मुख्य ३ कारण रहेको प्रहरी उपरीक्षक तिम्सिना बताउँछन् । उनका अनुसार, पहिलो कारण प्रेम, शिक्षा र रोजगारीमा असफलता हो । दोस्रो बालविवाह र तेस्रो घरेलु हिंसा ।
तिम्सिना भन्छन्, ‘मधेसमा बालिकामाथि परिवारबाट नै हिंसा हुन्छ । जबसम्म परिवारमा छोरीप्रतिको सोचमा परिवर्तन आउँदैन, तबसम्म बालिकाको आत्महत्या दर घट्न सक्ने देखिँदैन ।’
शिक्षित मानिसबाट नै छाेरीप्रतिको भावना पविर्तन हुन नसक्नु अर्को मुख्य कारण रहेको उनले बताए । ‘मधेसमा अझै पनि शिक्षित भनिएका मानिस नै छोरीको लालनपालन, दाइजो, शिक्षालगायत विषयलाई लिएर छोरीमाथि विभेद गर्छन्’, तिम्सिनाले बताए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले जनवरी २०१९ देखि जनवरी २०२० सम्म नेपालका सातै प्रदेशमा गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा पनि किशोरीहरूमा मानसिक तनावको समस्या बढी देखिएको जनाएको छ ।
एनएचआरसीले १५ हजार ८८ जनामा गरेको सर्वेक्षणमा ५ हजार ८८८ जना १३ देखि १७ वर्षसम्मका किशोरकिशोरी सहभागी थिए ।
सर्वेक्षणका अनुसार १३ वर्ष उमेर समूहमा ४ प्रतिशत, १४ वर्षका उमेर समूहमा ४.८ प्रतिशत, १५ वर्ष उमेर समूहमा ३.५ किशोरकिशोरीमा मानसिक समस्या देखिएको थियो ।
त्यस्तै, १६ वर्ष उमेर समूहका ७.७ प्रतिशत र १७ वर्षका ६.६ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या देखिएको थियो ।
मधेसमा बालिका आत्महत्या दर बढ्नुको मुख्य कारण यौन हिंसा, घरेलु हिंसा, दाइजो र बालविवाह जस्ता कुरीति मुख्य रहेको मधेसी महिला अधिकारकर्मी रीता साह बताउँछिन् ।
घरेलु हिंसा, बालविवाहसम्बन्धी कानुन भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा मधेसमा बालिकाहरूले ज्यान गुमाइरहेको उनको भनाइ छ ।
मधेसमा भएको आत्महत्याका कतिपय घटना प्रहरीसम्म नपुगी सामसुम पार्ने गरेको साहको भनाइ छ ।
‘मधेसमा बालिकासँग सम्बन्धित कतिपय विषय लुकाउन चाहन्छन् । त्यसले उनीहरूमा मानसिक पीडा दिएको हुन्छ । त्यसले पनि उनीहरूले आत्महत्याको बाटो रोज्ने गरेको देखिन्छ’, साहले भनिन् ।
मधेसमा महिला तथा बालबालिकालाई सचेत गराउन विभिन्न अभियान चल्ने गरेको छ । तर, त्यसले समस्या समाधानमा योगदान पुगेको देखिँदैन ।
‘पछिल्लो समय महिला अधिकारकर्मीहरू काठमाडौँ केन्द्रित छन् । केही समयका लागि मधेस जाने र रिपोर्ट तयार गरेर आउने गर्छन्’, साह भन्छिन् ।
मधेसमा बालिका आत्महत्या रोकथामका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको मधेसको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. मुक्तिनारायण साहले बताए ।
शिक्षामा कमजोर प्रदेशका रूपमा मधेस रहेको र बालिका आत्महत्यामा त्यसको पनि कारण रहेको साह बताउँछन् ।
अहिले प्रदेश सरकारले ‘मुख्यमन्त्री घरदैलो कार्यक्रम’ सञ्चालन गरेर घर घरमा पुगी समस्या बुझ्ने गरी कार्यक्रम बनाउन लागेको साहले बताए ।