बुस्टर डोज फागुनमा आउने, सबैलाई लगाउन आग्रह
काठमाडौँ–सरकारले कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)को खोप आगामी फागुन पहिलोसातामा नेपाल आउने बताएको छ ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले फागुन ८ गतेभित्रमा मात्र खोप नेपाल आउने बताए ।
उनले कार्यतालिकाअनुसार फागुन १ गतेदेखि ४ गतेभित्र ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ ले पठाउने भने पनि प्राविधिक कारणले नेपाललाई अझै खोप आउनेबारे जानकारी नदिएकाले ढिलाइ भएको बताए । छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले ‘गाभी’ सँग ३० लाखा मात्रा खोप माग गरेको हो । पहिलो चरणमा १५ लाख मात्रा खोप आउने उनले बताए ।
गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप उपलब्ध गराउन थालेको हो ।
छिमेकी मुलुक भारत र चीनमा बि।एफ सात नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ ।