प्रयोग नै नगरी थन्कियो दमकल
काठमाडाैँ – खोटाङ - ‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) २ वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०७७ असोज २९ गते गाउँपालिकालाई दमकल हस्तान्तरण गरेको थियो ।
विराटनगरबाट ल्याएको केही महिनापछि नै ब्याट्री डाउन भएको दमकललाई गाउँपालिकाको केन्द्र खोटाङबजारस्थित इलाका प्रहरी कार्यालयमा थन्क्याएर राखिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा दमकल चलाउनयोग्य सडकसमेत छैन । गाउँपालिकाको केन्द्र खोटाङबजारकै सडक पनि साँघुरो छ । यही कारण प्रदेश सरकारले निःशुल्क उपलब्ध गराएको दमकल प्रयोगमा ल्याउन असहज भएको गाउँपालिकाले जनाएको छ ।
जस्तापाता र खरको छाना भएको पुरानो संरचनाका घरहरू रहेको खोटेहाङ गाउँपालिकामा आगलागीका घटना जिल्लाका अन्य स्थानीय तहभन्दा बढी हुने गरेको छ । आगलागीका घटना नियन्त्रण गर्न प्रदेश सरकारले २ वर्षअघि दमकल उपलब्ध गराए पनि गाउँपालिकाले उक्त दमकल प्रयोगमा ल्याउन नसकेको हो ।
यद्यपि ब्याट्री फेरेर दमकललाई चालु अवस्थामा राख्ने तयारी गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राईले बताए । सुक्खा तथा खडेरीको मौसम सुरु भएकाले दमकलको ब्याट्री फेरेर चालु अवस्थामा राख्ने र चलाउने अपरेटर राख्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
प्रदेश सरकारले गाउँपालिकालाई दमकलसहित एउटा प्रहरी पिकअप भ्यानसमेत हस्तान्तरण गरेको थियो । प्रदेश सरकारले उपलब्ध गराएको भ्यान भने इलाका प्रहरी कार्यालय खोटाङबजारले प्रयोग गरिरहेको जनाइएको छ । दमकल र प्रहरी भ्यान लिन पूर्वगाउँपालिका प्रमुख प्रदीपकुमार राई, पूर्वउपप्रमुख कविता राई, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भट्टराईलगायत विराटनगर पुग्नुभएको थियो । प्रदेश सरकारले दमकल र प्रहरी भ्यान उपलब्ध गराएपछि गाउँपालिकाका स्थानीय बासिन्दासमेत हर्षित भएका थिए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकलसमेत प्रभावकारीरूपमा सञ्चालन भएको छैन । सात वर्षअघि खरिद गरिएको नगरपालिकाको दमकल अहिलेसम्म एउटा आगलागीका घटनामा पनि प्रयोग भएको छैन । १० स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म अन्य स्थानीय तहले भने दमकल खरिद गरेको छैन । पहाडी भू–भाग तथा कच्ची सडक रहेको जिल्लामा दमकल भए पनि प्रयोग गर्न असहज हुने देखिएको छ ।