नेभिगेशन
समाज विविध

महिला र पुरूषमा समान काम, असमान ज्याला

टीकापुर- कैलालीको जोशीपुर गाउँपालिकाकी मञ्जु चौधरी लगातार ४ वर्षदेखि स्थानीय पालिकामा रोजगारीका लागि फारम भर्छिन् । तर काम कहिल्यै पाउँदिनन् ।

बेरोजगार भएकै कारण उनी जोशीपुरबाट साइकल चलाउँदै कामको खोजीमा टीकापुर पुग्छिन् । टीकापुर बजारमा घर निर्माण भइरहेका ठाउँमा इँटा बोक्ने, माटो, बालुवा, ढुङ्गा बोक्ने काम गर्छिन् तर दिनभरिको ज्याला साढे ४ सयमात्र पाउँछिन्  । 

'४ वर्षदेखि घर निर्माणमा खटेका मिस्त्रीसँगै सबै काम गर्छु, '१२ किलोमिटर दैनिक साइकल चलाएर आउँछु, दिनभरि ८ घण्टा बढी काम गर्छु । बेलुका थकानसँगै ४ सय ५० लिएर घर फर्कन्छु,' उनले भनिन् । 

उनी काम नगरे पेट भर्न समस्या हुने, गरौँ भने निकै श्रम खर्चनुपरिरहेको बताउँछिन् । 'अहिले त जवान छु । सकेको गरेर पेट पालेको छु, हाम्रो ज्याला बढाइदिएको भए पनि हुन्थ्यो । हामीलाई सजिलो काम स्थानीयस्तरमै पाए पनि हुन्थ्यो । यसरी कडा श्रम गरेर जीवन कति दिन चलाउन सकिएला ?' उनकाे प्रश्न छ । 

घर निर्माण गर्ने ठाउँमै ज्यालादारी गर्ने कृष्णा चौधरी पनि मिस्त्रीको सहयोगीका रूपमा काम गर्छिन्। उनले कहिले ८, कहिले ९ घण्टा बढी काम गर्नुपर्छ तर पाउने पारिश्रमिक त्यही ४ सय ५० नै हो ।

दिनभरि माटो, ढुङ्गा र बालुवामा खेल्दा हात काटिने, चोटपटक लाग्ने डर हुन्छ । 'बाध्यता छ, काम नगरी घर चल्दैन, काम गर्दा जोखिम बढी हुन्छ, हिजो हात काटियो, इँटा खसेर खुट्टामा पनि चोट लागेको छ । हात फुट्ने, चोट लाग्नेजस्ता कुरा सामान्य भइसके,' उनले भनिन् ।

उनहरूसँगै घर चिन्ने काम गर्ने पप्पु दासले भने दैनिक ८ सय ज्याला पाउँछन् । उनी ८ वर्षदेखि यही काम गरिरहेका छन् । उनी भने आफ्नो काम कडा हुने र ज्याला महिला र पुरुषको फरक-फरक रहेको बताउँछन् । 'मैले घर चिन्ने काम गर्छु, मेरो काम कडा हुन्छ त्यसैले मेरो ज्याला अलि बढी हुन्छ, महिलाहरू सहयोगीको काम गर्ने भएकाले उहाँहरूको ज्याला कम हुन्छ,' उनले भने । 

महिला र पुरुष कामदारमा पनि विभेद छ । महिला कामदारले ४५० देखि बढीमा ६ सयसम्म ज्याला पाएका छन् । तर त्यही काम गर्दा पुरुष कामदारले भने ५५० देखि १ हजार २ सयसम्म पाउँछन् । 'महिलालाई तीन खालको ज्याला दिइन्छ ।

सामान्य काम गर्नेलाई ५५०, मसला बनाउन जानेकालाई ५ सय र मिस्त्री काम जानेकालाई त्यसभन्दा बढी ६ सयसम्म दिने गरेका छौँ, पुरुषको ज्याला ५५० देखि १ हजार २ सयसम्म छ । सामान्य काम गर्नेले ५५० पाउँछन्, मिस्त्रीको भने ७ सयदेखि १ हजार २ सयसम्म छ,' डकर्मी व्यवसायी संगठन टीकापुरका अध्यक्ष देवदास मुन्सीले भने । उनका अनुसार धेरै ज्याला पाउने मिस्त्रीले घरको नक्सा हेर्नसमेत जानेका हुन्छन् ।

सहरी क्षेत्र होस् या ग्रामीण क्षेत्रमा हरेक वर्ष नयाँ घर निर्माण हुन्छन् । नयाँ घर निर्माण हुँदा काम गर्ने डकर्मी तथा मजदुर खटाइने गरिन्छ । विगतमा कच्ची काठले घर बनाउने, टायल तथा खरले छाउने गरिन्थ्यो तर आजभोलि अधिकांशका घर पक्की बन्छन् । पक्की बनाउन नसक्नेले पनि घरको छाना जस्तापाता लगाउने गर्छन् ।

जस्तापाता लगाउन नसक्नेलाई जनता आवासमार्फत सरकारले बनाइदिनेसमेत गरेको छ । यसरी घर बनाउँदा मिस्त्री तथा मजदुर चाहिन्छन् । यसरी मजदुरी गर्नेमा महिला र पुरुषबीच ज्यालामा विभेद गर्न नहुने महिला अधिकारकर्मी निर्मला कडायतको माग छ । 

'एउटै काम गर्ने पुरुष ५५० ज्याला पाउँछ, त्यही काम गर्ने महिलालाई ४५० मात्र दिनु विभेद हो, मिस्त्री काम जानेका महिलाले पनि ज्याला राम्रो पाउन सकेको देखिँदैन । यसमा स्थानीय सरकारले अनुगमन गर्न आवश्यक छ,' उनले भने । 

सरकारले बराबरी कामको बराबरी ज्याला दिन भने पनि कार्यान्वयनको अवस्था कमजोर छ । बाध्यता भएकाहरू कमै ज्याला दिए पनि काम गर्ने भएकाले यसरी बाध्यतामा काम गर्नेका विषयमा गम्भीर भएर सरकारले ज्यालामा भएको विभेद अन्त्य गर्न आवश्यक रहेको सरोकारवाला बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध