नेभिगेशन
समाज विविध

युरिया मल अभाव हुँदा चिन्तामा किसान

मेलम्ची - सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन् । 

'खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ,' इन्द्रावती–१२ का अबिन्द्र दनुवारले दुःखेसो पाेखे। उनी जस्तै जिल्लाका अधिकांश किसानले युरिया मल नपाउँदा हैरान भएका छन् ।

मल नहाली धान उत्पादन नहुने हुँदा किसान खेती लगाउने कि नलगाउने दोधारमा पर्न थालेका छन् । यतिबेला किसानलाई गहुँ र तोरी तथा अन्य हिउँदे बालीका लागि ठुलो परिमाणमा युरिया मल आवश्यक छ ।

किसानले समयमै मल, बीउबिजन, कृषि औजार तथा उपकरणसमेत नपाउने अवस्था छ । खेतीको समयमा मल तथा बीउ अभाव सामान्य भइसकेको छ। 

'दिनभरि लाइनमा बस्यो अन्तिममा २-४ किलो मात्रै मल पाइन्छ । हामीलाई २ देखि ४ बोरा मल चाहिएको छ, त्यति मल त करेसाबारीको सागलाई मात्रै पुग्छ,' इन्द्रावती–११ का उज्जर माझीले भने ।  

हिउँदमा आलु, गहुँ, तोरी तथा जौँलगायत खेती गर्ने समयमा सधैभरी मल अभाव हुने गरेको उनको गुनासो छ ।

मल किन्न बिहानैदेखि सहकारी संस्था कुरेर बस्नुपर्ने किसानको दैनिकी नै बनेको छ । यसरी किसानले समयमै मल र बीउ नपाउने समस्या नयाँ होइन । 

यो समस्या हरेक वर्ष देखिँदै आएको छ । तर सरकारले समयमै आपूर्ति व्यवस्थालाई सहज बनाउन ध्यान नदिँदा किसान मारमा परेका छन् । खेतीबारीमा व्यस्त हुने किसान दिनभर मलको खोजीमा भौँतारिरहेको भेटिन्छन् ।

'यो वर्ष जसोतसो गरेर गहुँ छरियो । तर मल छैन । मल हाल्ने समय पनि बितिसक्यो । धेरै दिन खोज्न पनि गइयो तर पाइएन,' मेलम्ची–१० का खिलप्रसाद दाहालले भने। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध