हनिमुन लेकलाई आयआर्जनसँग जोड्दै
गण्डकी –७ तालको बगैँचा सहरका रूपमा परिचित लेखनाथको दिपाङ ताल मधुमास ताल (हनिमुन लेक)का रूपमा चर्चित छ । विभिन्न प्रजातिका पाहुना चरा जोडी मिलेर समय समयमा घुम्न आउने भएका कारण यस ताललाई ‘हनिमुन लेक’ भन्ने गरिएको यहाँका बासिन्दा बताउँछन् ।
यो ताल पछिल्ला वर्षमा प्रेमी जोडीको गन्तव्यका रूपमा पनि विकास भएको छ । नवविवाहित जोडीलाई यस तालले लोभ्याउने गरेको छ । सन् २०१६ मा विश्व रामसार सूचीमा सूचीकृत यो ताल प्राकृतिक सौन्दर्य र दृश्यावलोकनका दृष्टिले आकर्षक छ । पर्यटकको आगमनलाई लक्ष्य गरी तालको किनारामा घुम्न ४ किलोमिटर लामो पदमार्ग बनाइएको दिपाङ ताल संरक्षण समितिका अध्यक्ष रामजी लामिछाने बताउँछन् ।
आव २०६८/६९ मा निर्मित उक्त पदमार्गका लागि पटक–पटक गरी करिब ६० लाख रुपैयाँ लगानी भएको छ । वरपर घुम्ने पदमार्ग भएका कारण साँझ बिहान एवं बिदाका समयमा यहाँ उल्लेख्य सङ्ख्यामा पर्यटक आउन थालेपछि ताल वरपर विभिन्न होटेल तथा रेष्टुरेन्ट बन्ने क्रम पनि बढ्दै गएको स्थानीयवासी बताउँछन् ।
तालमा प्रायः बिदाका दिन पर्यटक आउने गरेको एचटुओ रेष्टुरेन्ट एण्ड बारका कमल गुरुङको भनाइ छ । ‘प्राकृतिक दृश्यावलोकनसँगै माछाका परिकारको स्वादका लागि ठाउँ ठाउँबाट पर्यटक आउने गरेका छन्’, उनी भन्छन्, ‘शान्त एवं सुन्दर स्थानमा रहेका कारण यसले पर्यटकलाई आकर्षित गर्ने गरेको हो ।’
ताललाई स्थानीयवासीको आयआर्जनसँग जोड्ने उद्देश्यले दिपाङ मत्स्य सहकारी सञ्चालनमा ल्याइएको छ । सहकारीले तालको संरक्षणसँगै यहाँबाट आम्दानी गर्ने लक्ष्य लिएको कार्यबाहक अध्यक्ष कृष्ण रानाभाटले बताए ।
तालको जलाधार क्षेत्र पोखरा महानगरपालिका वडा – २७, २८ र ३० का बासिन्दालाई समेटेर सहकारी सञ्चालनमा ल्याइएको र हाल ५४६ जना शेयर सदस्य रहेको उनको भनाइ छ । यस तालले कूल ६६८ रोपनी ७ आना ३ पैसा ३ दाम क्षेत्रफल ओगटेको छ र त्यसमा लगभग ३३८ रोपनी ८ आना क्षेत्रफल पानीको भाग रहेको छ । लेखनाथको चौथो ठूलो तालको रूपमा रहेको यसको पूर्वमा रुपा, बेगनास र मैदी ताल तथा उत्तर पश्चिममा गुँदे, न्युरेनी र खाष्टे ताल छन् ।
यो ताल पर्यावरणीय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । यहाँ २२ प्रजातिका चरा, १६ प्रजातिका माछा, ८ प्रजातिका अन्य घस्रने प्राणी, ६ प्रजातिका कमलको फूलका साथै नाभो, गुँदजस्ता वनस्पति पनि पाइन्छ ।
पोखराका अन्य तालमा भन्दा यहाँ मानवीय एवम् प्राकृतिक अतिक्रमण कम भएकै कारण यसलाई कुमारी (भर्जिन) तालका रुपमा समेत लिने गरिएको छ ।
तालको सौन्दर्य जोगाउँदै संरक्षण एवम् आयाआर्जन बढाउनका लागि सहकारीले माछापालनलाई व्यवस्थित गराउँदै लगेको सहकारीका कार्यवाहक अध्यक्ष रानाभाट बताउँछन् । माछा उत्पादनका लागि अघिल्लो वर्ष १० लाख रुपैयाँका भुरा छाडिएको र प्रत्येक हप्ता २ पटक माछा निकाल्ने गरिएको छ ।
एक पटकमा १५ देखि ७५ किलोग्रामसम्म माछा निकाल्ने र बिक्रीबाट भएको आम्दानी सहकारी कोषको बचतमा राख्ने गरिएको उनले बताए । माछा विक्रीबाट अघिल्लो वर्ष सहकारीले १० लाख रुपैयाँ आम्दानी गरेकाकामा यस वर्ष करिव ११ लाख रुपैयाँ आम्दानी भएको छ ।
भूगोलका दृष्टिले पनि यो ताल पोखराका अन्य तालभन्दा सुरक्षित मानिन्छ । वरिपरि वस्ती नहुनु र चारैतिर सामुदायिक वनले घेरिनु यहाँको विशिष्टता हो । कतैबाट पनि अतिक्रमित नभएका कारण यसलाई कुमारी ताल भन्ने गरिएको छ ।
दिपाङ ताल संरक्षण समितिको सक्रियता र राष्ट्रिय ताल संरक्षण विकास समितिको सहयोगमा आर्थिक वर्ष २०६६÷६७ मा २९ लाख रुपैयाँको लागतमा तालको बाँध निर्माण गरिएको थियो । राष्ट्रिय ताल विकास तथा संरक्षण बोर्डको सहयोगमा ताल सरसफाइ, वृक्षरोपण, उद्यान तथा वनभोज स्थल आदि निर्माण गरिएको छ ।
दृश्यावलोकनका लागि प्रेमी प्रेमीकाको आकर्षण बन्दै गएको यो ताललाई नवविवाहित जोडीलाई पनि आकर्षण गर्ने किसिमले नै ‘हनिमुन लेक’ का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य छ । पर्यटकको सुविधालाई लक्ष्य गरी विस्तारै होटल तथा रेष्टुराँ, विश्राम स्थलजस्ता पूर्वाधार निर्माणलाई अघि बढाउने सोच राखिएको छ ।
ताल वरपर बाँधसहित ५ किलोमिटर लामो पदमार्गले ताल अतिक्रमणको समस्या दीर्घकालीन रुपमा समाधान गर्नाका साथै यसले तालको दृश्यावलोकनलाई टेवा पु¥याएको छ । वरिपरि पन्थको डाँडा सामुदायिक वन, सहेलो पाखा सामुदायिक वन, पाखरे सामुदायिक वन, भालटारी भित्तेरी सामुदायिक वन र केही खेत छन् । वरिपरिका सामुदायिक वनका कारण पनि यो अन्य तालभन्दा सुरक्षित बनेको छ ।
ताल अवलोकन गर्न आउने पर्यटकलाई लक्ष्य गरी तालसँगै जोडिएको पन्थको डाँडा सामुदायिक वन क्षेत्रमा निर्मित वनभोज स्थलमा यतिखेर पोखरा आसपासबाट विभिन्न समूह समय समयमा बनभोजका लागि पुग्ने गरेका छन् ।