किसानलाई आयोगको आग्रह– गुनासा भए सिधै टोल फ्री नम्बरमा सम्पर्क गर्नुस्
काठमाडौँ–तरकारी तथा कृषिजन्य वस्तुको उचित मूल्य प्राप्त नभएको भन्दै किसान सङ्घर्ष समितिले राष्ट्रिय किसान आयोगको ध्यानाकर्षण गरेको छ ।
समितिका संयोजक लेखनाथ भुसालले आयोगका सदस्य टेकबहादुर बोगटीलाई मंगलबार ज्ञापनपत्र बुझाएका हुन् ।
तरकारी तथा पशुजन्य उत्पादनलाई सरकारी निकायबाट संरक्षण प्राप्त नभएको र भारतीय बजारबाट तरकारी तथा कृषिजन्य वस्तुको आयात नरोकेको ज्ञापनपत्रमा उल्लेख छ । उनले किसानको सूचीकरण, वर्गीकरण एवं परिचयपत्र वितरण तथा क्षेत्रफलका आधारमा अनुदान दिने नीति निर्माण तथा कृषिलाई औधोगिकीकरण गर्नुपर्ने, तरकारी तथा कृषि उपजको लागत मूल्यका आधारमा समर्थन मूल्य निर्धारण गर्नुपर्ने, रासायनिक मल, बीउ, बिजन र विषादी सर्वसुलभ तथा समयमै उपलब्ध गराउनुपर्ने, बाँझो जमिनमा अनिवार्य खेती गर्न लगाउन कडा कानुन बनाउनुपर्नेलगायत माग समितिले राखेको छ ।
ज्ञापनपत्र बुझ्दै आयोगका सदस्य बोगटीले सङ्घर्ष समितिले पेस गरेको माग समाधानका लागि पहल गरिने बताए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले किसानका मागबारे केन्द्रको ध्यानाकर्षण भएको बताए । किसान आयोगका सदस्यसचिव दुर्गाप्रसाद पण्डितले गुनासा आयोगको निःशुल्क टोल फ्री नं १६६००१०६१८२ मा सिधै सम्पर्क गरी पठाउन किसानलाई आग्रह गरे ।