Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोहलपुरमा ऐलानी जग्गाको नापजाँच थालियो

बुधबार, माघ २५, २०७९

नेपालगञ्ज - बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच सुरु गरेको छ ।  भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीका जग्गालाई  प्राथमिकतामा  राखेर काम भइरहेको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।  

samridhi jewllers

कोहलपुर नगरपालिकाको वडा नम्बर १२, १० लगायत वडामा अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिनसमेत नापजाँच गरिने वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले जानकारी बताए। वडा नम्बर–१२ मा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थितको १ हजार ६८० कित्ता जग्गा रहेको शाहले उल्लेख गरे।

यसअघि लुटबहादुर रावत नगरप्रमुख हुँदा वडा नम्बर–१ मा मात्रै ऐलानी जग्गा नापजाँच पूरा भएको थियो । वडा नम्बर–१ मा १ हजार ५६६ कित्ता नापजाँच भएको थियो । यस्तै वडा नम्बर–२ मा मुक्तिनगर, शक्तिनगर र विकास नगरको १ हजार ७३० कित्ता नापजाँच भएको थियो । 

वडा नम्बर–२ मा मात्रै अहिले १ हजार ८४९ कित्ता जग्गा नापजाँच सम्पन्न भइसकेको छ । वडा नम्बर–२ मा ऐलानी जग्गा नापजाँचको काम आज पूरा भएको छ । 

'हामी निर्वाचित भएर आएपछि भूमिहीन, दलित र सुकुम्बासीलाई जग्गाको स्वामित्व दिने गरी ऐलानी जग्गा नापजाँच कार्यलाई तीव्र पार्ने योजनामा थियौँ,' नगरप्रमुख आचार्यले भने। 

अबको केही  महिनामा नापजाँचको काम सक्ने गरी आफूहरु लागेको नगर प्रमुख आचार्यले बताए। कोहलपुर नगरपालिका भूमि सहजीकरण समितिका संयोजक वडा नम्बर–१२ का वडाध्यक्ष शाहले ऐलानी जग्गा नापजाँचमा २१ जनाको अमिन टोली खटिएको जानकारी दिए। 

उनका अनुसार कोहलपुर नगरपालिकाबाट ९ जना, भूमि आयोगबाट ६ जना र जिल्ला नापी कार्यालयबाट टोली प्रमुखसहित ६ जना गरी २१ जना अमिनको टोली खटिएको छ । 

'जमिन भएका, तर वर्षौंदेखि लालपुर्जाविहीन अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउँछौँ,' उनले भने। कोहलपुर नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी करिब १७ हजार रहेका छन् । 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ०८:५८
प्रतिक्रिया दिनुहोस्