पूर्वप्रधानमन्त्री कोइरालाको सातौँ स्मृति दिवसमा ‘राजद्रोही राजनेता’ प्रदर्शन गरिने
काठमाडौँ–पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गरिने भएको छ ।
सुशील कोइराला मेमोरियल फाउण्डेशनको आयोजनामा यही माघ २८ गते शनिबार बिहानदेखि बेलुकीसम्म पाँचपटक निःशुल्क ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गर्न लागिएको सदस्यसचिव अतुल कोइरालाले जानकारी दिए ।
नेपाली कांग्रेसको संस्थापकसमेत रहेका बिपी कोइराला आफूमाथिका आठवटा राजद्रोहसम्बन्धी मुद्दाको समेत पर्वाह नगरी विसं २०३३ पुस १६ गते किन स्वदेश फर्किएर कसरी जनमत सङ्ग्रहको घोषणा भयो भन्ने विषयलाई वृत्तचित्रमा सूक्ष्मरूपमा देखाइएको छ ।
नेपाल प्रवेश गर्नेबित्तिकै राजद्रोहको मुद्दाका कारण मृत्युदण्ड हुनसक्ने र भारत प्रवासमा बसिरहँदा राष्ट्रियता सङ्कटमा पर्ने त्रासका बीच बिपीले गरेको ऐतिहासिक राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको विषयलाई वृत्तचित्रमा देखाइएको फाउण्डेशनका सदस्यसचिव कोइरालाले बताए ।
गत वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर निर्माण गरिएको वृत्तचित्र यसअघि राजधानी काठमाडौँमा दुईपटक र गण्डकी प्रदेशको राजधानी पोखरामा एकपटक देखाइसकिएको छ ।
फाउण्डेशनले अन्वेषण न्यूज डटकमसँगको सहकार्यमा यो वृत्तचित्र निर्माण गरेको हो । इतिहासको संरक्षणका लागि अन्वेषण अभियानअन्तर्गत अन्य वृत्तचित्र पनि बनाइने भएको छ । फाउण्डेशनले अन्वेषण न्यूज डटकमको सहकार्यमा अन्य वृत्तचित्र निर्माणलाई अघि बढाएको जनाइएको छ ।
ऐतिहासिक विषयमा १२ वटा अन्य वृत्तचित्र निर्माण प्रक्रिया अघि बढाइएको उनले सुनाए ।
अन्वेषण न्यूज डटकमका प्रधानसम्पादक जगत नेपालका अनुसार विकसित देशमा यस्ता दस्तावेजको संरक्षण गर्ने काम राज्यले गर्ने भए पनि नेपालमा प्राथमिकतामा पर्न सकेको छैन । राज्यले ध्यान नदिएकै कारण कयौँ यस्ता तथ्य एवं सामग्री लोप भइसकेको छ ।
लोप नभएका तथ्य एवं सामग्रीको संरक्षणका लागि अन्वेषण अभियानले काम गर्न लागेको प्रधानसम्पादक नेपाल बताउँछन् ।
इतिहासजस्तो गम्भीर विषयमा श्रव्यदृश्यजस्तो खर्चालु प्रविधिमार्फत ऐतिहासिक दस्तावेजको संरक्षण गर्नु चुनौतीपूर्ण काम भएकाले अभियानले सहकार्यका लागि पनि इच्छुक सङ्घसंस्थासँग आह्वान गरेको छ ।