Nic Ad Nic Ad
Nic Ad Nic Ad

बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा बाधा

बिहीबार, माघ २६, २०७९

गलेश्वर - बजेट अभावले म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालनमा बाधा पुगेको छ । चिकित्सकको निगरानीमा औषधि प्रयोगबिना बिरामीको उपचार गर्ने गरी सञ्चालनमा ल्याएको उक्त चिकित्सालय बजेट अभावले समस्यामा छ ।

गत वर्ष असोजदेखि बिरामी भर्ना गरेर सेवा दिने तयारी भए पनि आन्तरिक र जनशक्ति व्यवस्थापन गर्न बजेट अभाव भएपछि चिकित्सालय सञ्चालनमा समस्या भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । 

पर्यटन मन्त्रालयको ५० लाख तथा तातोपानी कुण्ड व्यवस्थापन समितिको १ करोडमा पाँचतले भवन निर्माण गरिएको छ । 

'भवन निर्माण गर्दा लागेको ६९ लाख ऋण तिर्न बाँकी छ, विभिन्न चरणमा उपभोक्ता समितिमार्फत भवन निर्माण गरिएको हो,' उनले भने ।

कोरोना महामारीका कारण तातोपानी कुण्ड सञ्चालन नहुँदा आम्दानीको स्रोत गुमेपछि बेनीस्थित १ सहकारीबाट ६९ लाख ऋण लिएर उपभोक्ता समितिलाई भुक्तानी गरिएको शाक्यले बताए ।

प्रदेश सरकारले विनियोजन गरेको ५० लाख बजेटबाट नगरपालिकामार्फत चिकित्सालयका लागि आवश्यक उपकरण र सामग्री खरिद गरिएको छ । योगा, फिजियोथेरापी, हाइड्रोथेरापी, अक्कुपञ्चर र परामर्शकक्ष निर्माण गरिएको छ ।

चिकित्सालय सञ्चालन नहुँदा खरिद गरिएका उपकरण थन्किएका  छन् । 

'चिकित्सालय सञ्चालनका लागि प्रशासन र नगरपालिकालाई गुहारेका छौँ, बजेटका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग माग गरेका छौँ,' उनले भने ।

म्याग्दी नदीको किनारमा जमिनभित्रबाट निस्कने तातोपानी संकलन गरी तलाउमा परम्परागत शैलीमा शरीर डुबाएर गरिँदै आएको प्राकृतिक उपचारलाई व्यवस्थित र प्रभावकारी बनाउन चिकित्सालय बनाइएको हो ।

चिकित्सालयमा जलचिकित्सा, मसाजथेरापी, योगाथेरापी, पोषणथेरापी, अकुपञ्चर र परामर्शको माध्यमबाट औषधिको प्रयोगबिना विभिन्न नसर्ने रोगबाट थलिएका बिरामीको उपचार गरिन्छ । 

तातोपानीमा उपचार गराएमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्रिएको, मर्किएको, पेट दुख्ने, खाना रूचि नहुनेलगायत स्वास्थ्य समस्या निको हुने बिरामी बताउँछन् । तातोपानी कुण्डमा पुरुष र महिलाका लागि फरक–फरक समयतालिका बनाइएको छ ।

कुण्डमा विशेषगरी असोज, कात्तिक, माघ, फागुन र चैतमा सर्वसाधारणको घुइँचो लाग्छ । कुण्डको आम्दानीबाट कर्मचारीको पारिश्रमिक, व्यवस्थापन, पूर्वाधार निर्माणका साथै स्थानीय सरस्वती माविका ११ निजी स्रोतका शिक्षकलाई तलबभत्ता उपलब्ध गराउने गरिएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  ०८:२३
प्रतिक्रिया दिनुहोस्