Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागलुङ–बेनी सडक जीर्ण

बिहीबार, माघ २६, २०७९

गलकोट - बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ । उक्त सडकमा जताततै खाल्डाखुल्डी छन् । सडकमा नालीसमेत बनेको अवस्था छैन । कालोपत्र उप्किएको छ । 

बांगेचौरबाट रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि मर्मत गरिन्छ, तर बाढी र पहिराले कालोपत्र जहिले बगाउँछ। रत्नेचौरबाट बेनीसम्मको ६ किलोमिटर सडकको कालोपत्र उप्किएर खाल्डाखुल्डी हुँदा यात्रुलाई सास्ती भएको छ ।

सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको भए पनि सडकको अवस्थामा खासै सुधार आउन सकेको छैन । 

यस्तै रत्नेचौरबाट खबरासम्मको ४ किलोमिटरमध्ये ३ किलोमिटर सडक २०७६ मा कालोपत्र गरिएको हो । वर्ष दिन नपुग्दै त्यो पनि उप्किएको छ । बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती हुने स्थानीय सुरज सापकोटा बताउँछन्। 'गुणस्तरीय काम हुन सकेको छैन,' उनले भने। 

कुडुँलेमा नाली छ, तर सडक कालोपत्र छैन । रत्नेचौरमा कालोपत्र गरिएको सडकमा नाली मर्मत गर्नुपर्ने अवस्थामा छ । 

बर्सेनि मर्मतसम्भार गर्दै आए पनि पुरै नयाँ बनाउन बजेट अभाव रहेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी कृष्णबहादुर खड्का बताउँछन्। 

'मर्मतका लागि बर्सेनि न्यून बजेट आउँछ, सडक कालोपत्र गर्न बजेट माग गरेका छौँ,' उनले भने । 

रत्नेचौरबाट बेनीसम्मको सडक पूर्वाधार कार्यालयअन्तर्गत रहेको खड्काको भनाइ छ । बांगेचौरबाट रत्नेचौरसम्म सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको छ । 

रत्नेचौरबाट बेनीको खबरासम्मको ४ किलोमिटर कालोपत्र गर्ने काम  २०७४ देखि थालिएको हो । अझै सो काम सम्पन्न हुन सकेको छैन । 

१२ करोड १७ लाखको लागतमा कालोपत्रको ठेक्का नागार्जुन देव एण्ड सायर बिएन जेभीले लिएको छ ।  बागलुङका अधिकांश कालोपत्र सडक हस्तान्तरणको प्रक्रियामा छन् । 

कुँडुलेबाट रत्नेचौरसम्मको सडक २० लाखको लागतमा ठेक्कामार्फत मर्मतसम्भार भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । 

पछिल्लो समय कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गाबाट पर्वतको जलजला हुँदै बेनी जाने राजमार्ग विस्तार भइरहेकाले ठुला सवारीसाधन वैकल्पिक मार्ग बागलुङ हुँदै रत्नेचौर बेनी पुग्ने गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  ०८:४९
प्रतिक्रिया दिनुहोस्