कर्णालीमा ठुलो संख्यामा शिक्षक दरबन्दी रिक्त
सुर्खेत- कर्णाली प्रदेशभर ठुलो संख्यामा शिक्षक दरबन्दी रिक्त रहेको पाइएको छ । शिक्षक सेवा आयोगले लिएको परीक्षाबाट मागअनुसारको जनशक्ति छनोट हुन नसक्दा अझै दरबन्दी रिक्त छन् ।
शिक्षक अभाव भएपछि शिक्षा विकास तथा समन्वय एकाइले रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न माग गरेका छन् । एकाइ प्रमुखहरूका अनुसार धेरैजसो प्राथमिक तहका शिक्षक अपुग हुँदा राहत र निजी स्रोतको भरमा विद्यालय सञ्चालन गर्नुपरिरहेको छ ।
जुम्लामा प्राथमिक तहका ४४० दरबन्दीमध्ये ४१ दरबन्दी खाली छन् । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख मक्कर भण्डारीका अनुसार जुम्लामा निमाविमा ८० र मावि तहमा ६० दरबन्दी भए पनि अपुग भएपछि थप ५ दरबन्दी माग गरिएको छ ।
यस्तै सुर्खेतमा ३१ दरबन्दी पदपूर्ति हुन बाँकी छ । शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतका शाखा अधिकृत नारायणप्रसाद पौडेलका अनुसार निमावि र माविमा तहमा आवश्यक शिक्षक भए पनि प्राथमिक तहमा अभाव छ ।
सुर्खेतमा १५६ मावि, २४५ निमावि र प्राथमिक तहमा १ हजार १९१ शिक्षक दरबन्दी पदपूर्ति छ । तर प्राथमिक तहमा ३१ दरबन्दी पदपूर्ति हुन बाँकी रहेको पौडेलले बताए।
यसैगरी मुगुमा ३ वटै तहका लागि १०६ दरबन्दी माग गरिएको छ । प्राविमा ६८, निमाविमा १३ र माविमा २५ दरबन्दी आवश्यक देखिएको शिक्षा विकास तथा समन्वय एकाइ मुगुका प्रमुख सूर्य खत्रीले जानकारी दिए ।
दैलेखस्थित समन्वय एकाइका निमित प्रमुख रतन विष्टका अनुसार प्राविमा अहिले कायम रहेको दरबन्दीमै पनि २०० हाराहारीमा शिक्षक दरबन्दी खाली छ ।
यस्तै रुकुमपश्चिममा प्राविमा २८ दरबन्दी थप गर्न माग गरिएको छ निमाविमा ४ र माविमा १ जनाको दरबन्दी माग गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख ताराप्रकाश पुनमगरले बताए । सरकारले पहाडी जिल्लामा ४५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने मापदण्ड बनाएको छ ।
हिमालमा ४० विद्यार्थी बराबर १ शिक्षकको नियम छ । कर्णालीका सबैजसो विद्यालयले उक्त मापदण्डअनुसार शिक्षक पाएका छैनन् ।
शिक्षक र विद्यार्थी अनुपातअनुसार दरबन्दी मिलानको प्रयास गरिए पनि समस्या समाधान हुन सकेको छैन ।
विद्यालय संख्या धेरै र दरबन्दी कम भएकाले दरबन्दी मिलान गर्न समस्या भएको सम्बन्धित जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखहरूले बताएका छन् ।