अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्ष व्यवस्थित गर्न पर्यटनमन्त्रीले दिए निर्देशन
काठमाडौँ –संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताएका छन् ।
बिहीबार बिहान साढे ५ बजे अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगेका मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए । उनले भने, ‘यो नै पूर्ण सुधार होइन । तर क्रमिकरूपमा सुधार भइरहेको छ । यसबाट म आंशिक सन्तुष्ट छु । २४ सै घण्टा खटेर विमानस्थललाई सुन्दर बनाउने ब्यूटीसियनलाई विशेष धन्यवाद छ ।’
मन्त्री किराँतीले विमानस्थलको सबै सेवाको सुधारबारे स्थलगत अनुगमन गरेका थिए । विमानस्थलको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्यूआर कोड सञ्चालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा उनको छ ।
हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्थासमेत गरिएको छ । सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री किराँतीले यो सुधारले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने विश्वास व्यक्त गरे ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मन्त्री किराँतीले ५०० ट्रलीको मूल्याङ्कन गरी आर्थिक प्रस्तावनासमेत तयार गर्न निर्देशन दिए । सरसफाइका साथै स्तरीय यात्रुसेवा सुविधा दिन विमानस्थलका पदाधिकारीलाई उनले आग्रह गरे ।