Nic Ad Nic Ad
Nic Ad Nic Ad
संकटमा मुख्यमन्त्री रावल

विश्वासको मत नदिने नाउपाकाे अडान, रञ्जिता श्रेष्ठले भनिन्– हार्नेहरूले हो आत्मसमर्पण गर्ने

‘सतहमा दह्रो पिल्लर छ, भूकम्पले समेत हल्लाउन नसक्ने पिल्लरमा २-४ घन दुस्साहस मात्रै हो’
बिहीबार, माघ २६, २०७९

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरूले आत्मसमर्पन नगर्ने बताएकी छिन् । 

बिहीबार फेसबुकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरूको तस्बिर पाेस्ट गर्दै श्रेष्ठले लेखेकी छिन्, ‘हार्नेहरूले हो आत्मसमर्पण गर्ने ! योद्धाहरू त सहिद भएर मर्छन्, तर परिचय मर्न दिँदैनन् ।’ 

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलाई जेलबाट रिहा नगरेसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । 

सुदूरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आजसम्म विश्वासको मत पाएनन् भने उनको सरकार स्वतः ढल्छ । 

नागरिक उन्मुक्ति पार्टीलाई फकाउन बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले रञ्जिता श्रेष्ठसँग छलफल गरेका थिए । तर, ओलीले श्रेष्ठको विश्वास जित्न सकेनन् । 

सुदुरपश्चिम प्रदेशसभा बैठक आज दिँउसो १ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी छलफल हुने एजेन्डा छ । 

श्रेष्ठले एकै देशका दाजुभाइमाथि थिचोमिचो गरिएको र त्यसले देशलाई ओरालो बाटोमा लैजाने बताएकी छिन् । 

‘आफ्नो देश समृद्धिमा पुगोस् भन्ने कसको चाहना हुन्न र ? तर, एकै देशका दाजुभाइमाथि गरिएको थिचोमिचोले मुलुक उकालो होइन, ओरालोतिर लाग्छ ।'

आफूहरूले देश मागेर विद्रोह गरेकाे नभई मुलुककाे समृद्धिका लागि समानुपातिक सहभागिता मात्रै खाेजेकाे उनले बताएकी छिन ।

श्रेष्ठले नागरिक उन्मुक्ति पार्टी बलियो रहेको र त्यसमाथिको आक्रमण दुस्साहस मात्रै हुने टिप्पणी गरेकी छिन् । 

उनले भनेकी छन्, ‘हिजो आयातितले बजार धान्थे आज हामी आफैँ सक्षम छौँ । सतहमा दह्रो पिल्लर छ, भूकम्पले समेत हल्लाउन नसक्ने पिल्लरमा २-३ घन दुस्साहस मात्रै हो ।’

मुलुक समृद्ध बनाउन श्रम चाहिने भन्दै उनले भनेकी छिन्, ‘भलो यसैमा छ, मुलुकीय तलामा तपाईंको पनि साथ रहोस् । श्रमले मुलुक समृद्धशाली बन्छ, आश्वासित शब्दले होइन ।’

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार