Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागलुङ–बेनी सडकमा जताततै खाल्डाखुल्डी

बिहीबार, माघ २६, २०७९

बागलुङ –बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण बनेको छ । सडकमा जताततै खाल्डाखुल्डी छन् । सडकमा नालीसमेत बनेको अवस्था छैन । कालोपत्र उप्किएको छ भने सडक धुलाम्मे भएको छ ।

बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि मर्मत गरिन्छ । तर बाढी र पहिराले कालोपत्र बगाएको छ । रत्नेचौरबाट बेनीसम्मको ६ किलोमिटर सडकको कालोपत्र उप्किएर खाल्डाखुल्डी हुँदा यात्रुलाई सास्ती भएको छ । सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको भए पनि सडकको अवस्थामा खासै सुधार आउन सकेको छैन ।

यस्तै, रत्नेचौरबाट खबरासम्मको ४ किलोमिटरमध्ये ३ किलोमिटर सडक २०७६ मा कालोपत्र गरिएको हो । वर्ष दिन नपुग्दै त्यो पनि उप्किएको छ । बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती हुने स्थानीय सुरज सापकोटाले बताए । 

बर्सेनि मर्मतसम्भार गर्दैआए पनि पूरै नयाँ बनाउन बजेट अभाव रहेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी कृष्णबहादुर खड्काले बताए । ‘मर्मतका लागि बर्सेनि न्यून बजेट आउँछ’, उनले भने । रत्नेचौरबाट बेनीसम्मको सडक पूर्वाधार कार्यालयअन्तर्गत रहेको खड्काको भनाइ छ । बाङ्गेचौरबाट रत्नेचौरसम्म सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको छ ।

रत्नेचौरबाट बेनीको खबरासम्मको ४ किलोमिटर कालोपत्र गर्ने काम २०७४ देखि थालिएको हो । अझै यो काम सम्पन्न हुन सकेको छैन ।

१२ करोड १७ लाख रुपैयाँको लागतमा कालोपत्रको ठेक्का नागार्जुन देव एण्ड सायर बिएन जेभीले लिएको छ । बागलुङका अधिकांश कालोपत्र सडक हस्तान्तरणको प्रक्रियामा छन् । कुँडुलेबाट रत्नेचौरसम्मको सडक २० लाख रुपैयाँको लागतमा ठेक्कामार्फत मर्मतसम्भार भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पछिल्लो समय कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गाबाट पर्वतको जलजला हुँदै बेनी जाने राजमार्ग विस्तार भइरहेकाले ठूला सवारीसाधन वैकल्पिक मार्ग बागलुङ हुँदै रत्नेचौर बेनी पुग्ने गरेका छन् । 
 

  •  

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १३:१६
प्रतिक्रिया दिनुहोस्