Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार गरिँदै

बिहीबार, माघ २६, २०७९

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको विदुर नगरपालिका–९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरेको छ । 

२०२३ सालबाट सञ्चालनमा रहेको विद्युत् गृहका उपकरणहरू पुरानो तथा जीर्ण बनेको र माटो, बालुवा भरिएर जलाशय चौरमा परिणत भएपछि त्यसको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरिएको हो । 

करिब ७५ करोड रूपैयाँ लागत अनुमान गरिएको जीर्णोद्धार तथा आधुनिकीकरण परियोजनामार्फत विद्युत् गृहको नियन्त्रण कक्षमा रहेका इलेक्ट्रो मेकानिकल उपकरणहरूलाई आधुनिक तथा स्वचालित बनाइने छ ।

करिब ४०० रोपनी जग्गामा फैलिएको जलाशयमा थुप्रिएको माटो, बालुवालाई हटाएर त्यसको पुनर्स्थापनाको काम सुरु गरिएको छ । 

31675928167.jpg

साथै, जलाशयको दायाँ किनारतर्फबाट ५० क्युसेक पानी बहाव क्षमताको १ हजार २०० मिटर लम्बाइ भएको नयाँ बाइपास नहर निर्माण गरिएको छ । अहिले यही नहरमार्फत विद्युत् उत्पादन भइरहेको छ ।

नहर सञ्चालनमा रहेकाले विद्युत् उत्पादन बन्द नगरी जलाशयमा भरिरहेको माटो, बालुवा निकाल्ने काम जारी छ । 

गत वैशाखबाट सुरु भएको जलाशयको पुनर्स्थापना यही फागुनभित्रमा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । विद्युत् गृहलाई स्वचालित बनाउने काम भने १ वर्षभित्रमा सम्पन्न हुने छ ।

यसका लागि ठेक्का सम्झौता भई केही उपकरण उत्पादनको क्रममा छन् भने पावर ट्रान्सफर्मरलगायत उपकरण केन्द्र स्थलमा आपूर्ति भइसकेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले पुनर्स्थापना कार्यको अनुगमन भ्रमण गरी तोकिएको समयमा सम्पूर्ण काम सक्न निर्देशन दिएको छ । 

जलाशयको पुनर्स्थापना भएपछि विद्युत् गृहलाई विद्युत्को माग बढी हुने समय (पिक आवर) मा दैनिक रूपमा ४ घन्टा पूर्ण क्षमतामा चलाउन सकिने छ । हिउँदमा बाइपास नहरबाट र जलाशयमा सञ्चित गरिएको पानी प्रयोग गरी विद्युत् उत्पादन गर्न सकिने छ । 

वर्षायाममा जलाशयलाई प्रयोगमा नल्याइने, खहरे खोलाहरूबाट आउने लेदोलगायतलाई रोक्न संरचना निर्माण गरिएको हुँदा विगतमा जस्तो बालुवा, माटो भरिन नपाउने उल्लेख गर्दै केन्द्र प्रमुख बाबुराजा महर्जनले यसले जलाशयको सञ्चित क्षमता गुम्न नपाउने बताए ।

11675928167.jpg

यसैबीच विदुर नगरपालिकाले जलाशय वरिपरि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न गुरुयोजना तयार गरेको छ ।

जलाशयमा डुंगा चलाउने, खाली जग्गामा पैदल मार्ग तथा बगैँचा निर्माण गर्नेलगायत योजना नगरपालिकाको छ । 

भारतीय अनुदानमा त्रिशूली जलविद्युत् आयोजनाको निर्माण गरिएको हो । अर्धजलाशययुक्त त्रिशूली जलविद्युत् केन्द्रबाट वार्षिक १६ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुने गरी डिजाइन गरिएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा विद्युत् गृहबाट १३ करोड ७१ लाख युनिट विद्युत् उत्पादन भएको थियो । गत आवसम्ममा केन्द्रबाट ५ अर्ब ६९ करोड ३९ लाख युनिट विद्युत् उत्पादन भइसकेको छ । 

भारतीय रूपैयाँ १४ करोड सहयोगमा निर्माण भएको केन्द्रको सुरुको क्षमता २१ मेगावाट थियो । पछि यसको पुनर्स्थापनामार्फत् क्षमता विस्तार गरी २४ मेगावाट पुर्‍याइएको हो ।

त्रिशूली जलविद्युत् केन्द्रको क्यास्केडको रूपमा १५ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र पनि सञ्चालित छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्