नेभिगेशन
समाज विविध

१० महिनादेखि जहाज कुर्दै पाटन विमानस्थल

बैतडी –पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा भइरहेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो ।  

हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको जनाइएको छ । ११ करोड रुपैयाँको लागतमा पाटन विमानस्थल कालोपत्र गरेर सञ्चालनमा ल्याइएको भए पनि हवाई उडान भने लामो समयदेखि बन्द रहँदा यहाँ आकस्मिकरूपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् । 

साताको १ दिन बिहीबार समिट एयरले उडान भर्दै आएको थियोे । तर १० चैतमा यहाँ अन्तिम पटक उडान भएको थियो । हवाई सेवा पुनः सञ्चालन अनिश्चित रहेको समिट एयरका प्रतिनिधि कृष्णदत्त भट्टले बताए ।

फागुनमा उडान हुनसक्ने भनिए पनि आधिकारिक जानकारी नआएको भट्टको भनाइ छ । पाटनदेखि १८ मिनेटको हवाई यात्रा रहेको धनगढीको भाडा ५ हजार रुपैयाँ रहेको छ । हवाई सेवा बन्द हुँदा आकस्मिकरूपमा बिरामी भएकालाई सुविधा सम्पन्न अस्पातल लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीयको भनाइ छ ।

सुदूरपश्चिमकै दोस्रो ठूलो पाटनमा रहेको विमानस्थल हो । पाटनमा विमानस्थल २६ वर्षपछि २०७७ मा पुनःसञ्चालनमा आएको थियोे । २०३६ देखि सञ्चालनमा आएको पाटन विमानस्थल २०५१ देखि भने बन्द थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध