नेभिगेशन
सुरक्षा–अपराध

रातोपुल हत्याकाण्ड : एक जना पक्राउ

काठमाडौँ– काठमाडौँको धोबीखोला करिडोरअन्तर्गत रुद्रनगर शान्तिमार्गमा १ व्यक्तिलाई लुटपाट गरी हत्या गर्ने १ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै माघ २४ गते बिहान रुद्रनगर शान्तिमार्गमा १ व्यक्तिको शव फेला परेको सूचना प्राप्त भएको र अनुसन्धान गर्ने क्रममा मोरङ सुन्दरहरैँचा घर भएका रामबहादुर थापाले १ दिनअघि लुटपाट गरी पर्सा घर भई टोखा बस्ने ध्रुवबहादुर खड्काको हत्या गरेको खुलेको जनाएको हो ।

पक्राउ परेका थापाले बत्तिसपुतलीबाट ट्याक्सीमा राखी एकान्त स्थानमा लगी लुटपाट गर्दै कुटपिट गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार थापाले खड्कालाई कुटपिट गरी सामान लिएर सख्त घाइते बनाएका थिए । सोही राति १० बजे पुनः थापा साइकल चढेर उक्त स्थानमा पुगेर दुवै खुट्टाले छातीमा हानेर खड्काको हत्या गरेको सिसी क्यामेरा फुटेजबाट दखिएको कार्कीले बताए ।

पक्राउ परेका थापालाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर  ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली कागजात बनाई किर्ते गरेको आरोपमा तेह्रथुम म्याङलुङ– १ घर भई काठमाडौँको माछापोखरी बस्ने सोनाम नेपाललाई पक्राउ गरेको छ ।

काठमाडौँको वसन्तनगरमा सञ्चालित युनाइटेड इन्टरप्राइजेज एन्ड ट्रेनिङ सेन्टरमा छापा मार्दा विभिन्न संघसंस्थाको लेटरप्याड र छाप फेला पारिएको र नेपाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

तीनकुने घटना : थप ६ जना पक्राउ