संविधान कार्यान्वयन नै नगरी त्रुटि देखाउन मिल्दैन : प्रचण्ड
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमा भएको व्यवस्था लागू नगरी संविधानलाई दोष दिन नहुने बताएका छन् ।
बिहीबार सिंहदरबारमा निर्वाचन प्रणाली र प्रक्रिया सुधारबारे निर्वाचन आयोग र नीति अध्ययन प्रतिष्ठानद्वारा आयोजित अध्ययनको प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संविधानले भनेको कुरा पहिला लागू गर्दै त्यसको नतिजाका बारेमा समीक्षा गर्नुपर्ने बताएका हुन् ।
संविधान कार्यान्वयनका लागि अपरिहार्य ऐनहरू बनाउन जरुरी रहेकाले संविधानको पूर्ण कार्यान्वयनपछि मात्रै संविधानमा भएका त्रुटिका विषयमा निष्कर्षमा पुग्न सकिने उनको भनाइ थियो ।
बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले मलुकको शासकीय स्वरूप, निर्वाचन प्रणालीका विषयमा धारणा राखेको लोसपाका नेता केशव झाले जानकारी दिए ।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका विषयमा माओवादी, एमाले र कांग्रेसको फरक मत आएको जानकारी दिए ।
विदेशमा रहेका नेपालीहरूको मताधिकार, राइट टू रिजेक्ट, राइट टू रिकललगायत विषयमा पनि छलफल भएको उनले बताए ।
एकजना व्यक्तिलाई २ पटकभन्दा बढी सांसद, मन्त्री बन्न नदिनेलगायत विषयमा पनि दलहरूले आ–आफ्नै विचार राखेको झाले जानकारी दिए ।
प्रधानमन्त्रीलगायत सबै दलका नेताले राखेका सुझावलाई निर्वाचन आयोगले संविधानमा नै भएको प्रावधानअनुसार समेट्न सकिने जबाफ दिएको लोसपा नेता झाले जानकारी दिए ।