Nic Ad Nic Ad
Nic Ad Nic Ad

यसरी लेखियो गुलाबी...

बिहीबार, माघ २६, २०७९

काठमाडौँ– चरित्र प्रस्ट्याउने पोस्टर सार्वजनिक भएदेखि नै चलचित्र ‘गुलाबी : एक रङ’ को चर्चा भइरहेको छ । 

पोस्टरमा अभिनेता नाजिर हुसेनलाई मात्र चित्रण गरिएको छ । उनी पारालैङ्गिक महिला देखिएका छन् ।  ‘लुक्स’लाई आकर्षक बनाउन मेकअपदेखि चरित्र रूपान्तरणमा अभिनेता हुसेनले मेहनत गरेको देखिन्छ ।

गुलाबी नामको पात्रको भूमिका रहेको चलचित्रलाई समुद्र भट्टले निर्देशन गरेकी हुन् । 

‘हामीले फिल्मको पात्रको बारेमा जानकारी दिन सार्वजनिक गरेको चरित्र पोस्टरले अपेक्षा बढेको पाएका छौँ । यसले मलाई खुसी मिलेको छ भने दायित्व पनि थपेको छ’, निर्देशक भट्टले भनिन् ‘यसको कथा तयार भएपछि मैले सोचेकै कलाकारलाई अभिनय गराउन पाएँ । उहाँहरूको उपस्थितिले पात्रलाई जीवन्त बनाएको छ ।’

samundra-bhatta-facebook1675949544.jpg

निर्माणसम्बन्धी सोच कोभिड–१९ कै समयमा आएको निर्देशक भट्टले जानकारी दिइन् । उनले भनिन्, ‘म राहत वितरण गर्न जाने क्रममा नीलहिरा समाजमा पुग्दा सुनिएको कथाले आँखा रसाए । त्यसपछि पुराना दुई कथालाई पन्छाउँदै यसको सुरुआत गरेँ ।’

उनले पटकथा निर्माण र अनुसन्धानमा लैङ्गिक अल्पसङ्ख्यकको क्षेत्रमा कार्य गर्ने संस्था नीलहिरा समाजसँगै नीति नेपालसँग परामर्श गरेको जानकारी दिइन् ।

बाहिरी आवरण र भित्री कथाको भिन्नता देख्न पाइने चलचित्रको शीर्ष भूमिकामा देखिएका अभिनेता हुसेनले एक वर्षसम्म पारालिङ्गी महिलालाई अवलोकन गर्नुका साथै चरित्र निर्माणका लागि क्लबदेखि सपिङ मलसम्म पछ्याए । 

यसमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, अनुपम श्रेष्ठ र विशाल पहारीकोसमेत अभिनय छ । द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र आउँदो वर्षको वैशाखमा प्रदर्शन गर्ने तयारी छ ।

निर्देशक भट्टले यसअघि ‘रिङरोड’ र ‘आधापेज’जस्ता चलचित्र निर्देशन गरिसकेकी छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १९:०६
प्रतिक्रिया दिनुहोस्