उत्पादनलाई जनजीविका र औद्योगिकीकरणसँग जोड्नुपर्छ : प्रदेश प्रमुख शर्मा
मकवानपुर– बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द शर्माले उत्पादनलाई जनजीविकाको सूत्रमा बाँधी औद्योगिकीकरणसँग जोड्नुपर्ने बताएका छन् । प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।
उनले भने, ‘वनको संरक्षण र सदुपयोग गरी हेटौँडा वरिपरिका सम्भावित क्षेत्रमा मरिच खेती र नदी किनाराका भिराला पाखामा चिउरी, केरा, आँप, कटहर, भुँइकटहर, लिची, एभोकार्डोजस्ता फलफूल लगाई हाम्रो खानपान शैली परिवर्तन गर्न, अन्न उबार्न र विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।’
उनले परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक व्यावसायिक कृषि प्रणालीमा रुपान्तरण गर्ने वातावरण निर्माण गरी कृषि क्षेत्रमा आत्मनिर्भर हुने गरी योजना तर्जुमा गर्न सुझाव दिए ।
किसानले उत्पादन गरेको फसलको बजार सुनिश्चित गर्ने, उन्नत किसिमका मल, बीउबिजन र प्रविधि उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो ।
प्रदेश सरकारले किसानमैत्री नीति तर्जुमा गरी बिक्री नभएर सडकमा आफ्ना उत्पादन फ्याँक्नुपर्ने कहालीलाग्दो अवस्थाबाट मुक्त भई निर्धक्कतापूर्वक कृषकले सके जति उत्पादन गर्ने र सरकारले बजार व्यवस्थापन गरिदिनुपर्ने उनले उल्लेख गरे।
बजेट निर्माण र विनियोजन प्रणालीमा हिजो र आजमा तात्विक अन्तर नभएको गुनासो गर्दै उनले भने, ‘हामीले बजेट विनियोजन गर्दा जलविद्युत् आयोजना, नमूना कृषि फार्म, प्राविधिक शिक्षालय र उद्योगको स्थापना गर्नेतर्फ लक्षित गर्न सक्यौँ भने मात्र रोजगारीका अवसर सिर्जना हुनेछन् ।’
प्रदेश सरकारप्रति जनताको आशा र भरोसामा कुनै किसिमको कमी आउन नदिन सुझाव दिँदै प्रदेश प्रमुख शर्माले जनताको आशा एवं विश्वासलाई व्यवहारमा मूर्तरुप दिन जनमुखी सरकारको अवधारणाअनुरुप प्रदेश सरकारका नीति, कार्यक्रम, बजेटलगायतका विषयमा जनताको हित र न्यायका पक्षमा केन्द्रित रहन प्रदेशसभा सधैँ सचेत र क्रियाशील हुन आवश्यक रहेको बताए ।
उनले बागमती प्रदेशसभाको पहिलो कार्यकालमा मूल विधेयकका साथै संशोधन विधेयक, सालबसाली आर्थिक विधेयक र विनियोजन विधेयकसमेत गरी ७० विधेयक पारित भएकोमा प्रसन्नता व्यक्त गरे ।
उनले प्रदेशसभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याउन, कर्मचारी प्रशासनलाई प्रभावकारी बनाउन र सेवाग्राहीलाई सर्वसुलभ सेवा उपलब्ध गराउन आवश्यक पर्ने जनमुखी कानुन निर्माण गरी प्रदेशसभाको सान्दर्भिकतालाई पुष्टि गर्नेमा आफू विश्वस्त रहेको बताए ।
प्रदेश प्रमुख शर्माले अब सिङ्गो प्रदेशले अग्रगतिका योजना तर्जुमा गर्न तथा समाज र समयको उद्बोधनलाई मनन गर्दै आवश्यक नीति, नियम र कानुनको निर्माण एवं परिपालना गर्न आवश्यक छ भने ।
उनले छुवाछुत, महिला हिंसा, मानव बेचबिखन र लागुऔषध ओसारपसारजस्ता विकृति विसङ्गतिको अन्त्य गर्न दृढ सङ्कल्पका साथ राष्ट्रप्रति जिम्मेवार रही जनताको पक्षमा अविस्मरणीय काम गर्न प्रदेशसभा सफल र सक्षम रहोस् भने।
प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकले प्रदेश प्रमुख शर्माले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुभएकोमा सर्वसम्मतिले धन्यवाद प्रस्ताव पारित गरेको छ ।
सो बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश प्रमुख शर्माले सम्बोधन गरेको प्रति टेबुल गरेका थिए ।
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेका थिए ।