नेभिगेशन
समाज विविध

चाहिएको समयमा एम्बुलेन्स उपलब्ध नहुँदा सास्ती

खोटाङ– ६ वर्षअघि खोटाङ सेवा समाज बेलायतले जिल्लाका लागि ७ एम्बुलेन्स एकसाथ उपलब्ध गरायो । खोटाङमा जन्मिएर रोजगारीको सिलसिलामा बेलायतमा बासोबास गर्दै आएकाहरुले स्थापना गरेको समाजले २ प्राथमिक स्वास्थ्य केन्द्र र ५ स्वास्थ्यचौकीलाई १ करोड १२ लाखमा खरिद गरिएका ती एम्बुलेन्स उपलब्ध गराएको हो । 

जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी, ऐसेलुखर्क गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको डाँडागाउँ स्वास्थ्यचौकी, केपिलासगढी गाउँपालिकाको बाक्सिला स्वास्थ्यचौकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुइपा स्वास्थ्यचौकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै निर्मलीडाँडा स्वास्थ्यचौकी र खोटेहाङ गाउँपालिकाको सिम्पानी स्वास्थ्यचौकीलाई एम्बुलेन्स उपलब्ध गराइएको थियो । 

जिल्लामा भरपर्दो अस्पताल नहुँदा सामान्य रोगका बिरामीलाई उपचारका लागि अन्यत्र लैजानुपर्ने बाध्यता छ । तर चाहिएका बेला ती एम्बुलेन्स भने उपलब्ध हुँदैनन् । 

ऐसेलुखर्क, लामाखु र सिम्पानीको एम्बुलेन्स लामो समयदेखि बिग्रिएर थन्किएका टन् । एम्बुलेन्स मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन अहिलेसम्म कसैको ध्यान गएको छैन । ऐँसेलुखर्कको ग्यारेजमा ४ वर्षदेखि थन्किएको एम्बुलेन्स मर्मत खर्च बढी लाग्ने भएकाले त्यतिकै रहेको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिए । ‘एम्बुलेन्स मर्मत गर्न ६ लाख बढी खर्च लाग्छ’, उनले भने।

लामाखुको एम्बुलेन्स ३ वर्ष अगाडि सिराहाको कञ्चनपुरमा दुर्घटनामा परेपछि उतै थन्किएको एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिलनचन्द्र राईले जानकारी दिए । ‘उक्त एम्बुलेन्स पुनः सञ्चालनमा आउने सम्भावना कम छ’, उनले भने । 

यस्तै सिम्पानीको एम्बुलेन्स बिग्रिएर थन्किएको २ वर्ष भएको गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताए । खर्च व्यवस्थापन गरेर बिग्रिएको एम्बुलेन्स पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको उनको भनाइ छ । चिसापानी, डाँडागाउँ, बाक्सिला बजार र बुइपाको एम्बुलेन्स भने हालसम्म सञ्चालनमा छन् । तर उचित व्यवस्थापन नहुँदा बिरामीलाई आवश्यक परेका बेला भने ती उपलब्ध नहुने सेवाग्राहको आरोप छ। 

जिल्ला अस्पताल, बुइपा, ऐँसेलुखर्क, केपिलासगढी, जन्तेढुंगा, दिप्रङ चुइचुम्मा, बराहपोखरी र साकेला गाउँपालिकामा पनि हाल एम्बुलेन्स सञ्चालनमा छन् । बराहपोखरी, दिप्रुङ चुइचुम्मा, रावाबेँसी, ऐसेलुखर्क र साकेलाले आफ्नै पहलमा पनि एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध