‘बालबालिका शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन्’
टीकापुर- बालबालिकाले शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन् । विद्यार्थीलाई पढाइसँगै उनीहरुमा रहेको अन्तर्निहित क्षमतालाई उजागर गरी क्षमता विकास गर्ने काम शिक्षकबाटै हुने भएकाले परिवारका सदस्यसँग गरिने व्यवहार शिक्षकसँग खोजिरहेका हुन्छन् ।
कालिका आधारभूत विद्यालयकी शिक्षिका शान्ति काफ्ले साना बालबालिकाले अझ बढी स्नेह खोज्ने बताउँछिन्। 'बालबालिकालाई असल मार्ग देखाउने, सपना देखाउने काम परिवार, साथी, विद्यालय, आफन्त सबैले गर्छन्, शिक्षकले त भविष्य देखाउनुपर्छ । आमाको काखबाट विस्तारै विद्यालय आउने बालबालिका शिक्षक पनि आमाजस्तै माया गरुन भन्ने चाहन्छन्,' उनले भनिन् ।
काफ्लेले साना नानीबाबु काखमै निदाउने, घरजस्तै वातावरणमा खान र खेल्न खोज्ने बताइन् ।
'आजभोलि ३ वर्ष पार नगर्दै बालबालिकालाई विद्यालय पठाइन्छ । साना नानीबाबु विद्यालयमा पनि आमा खोज्छन्, हामीले पनि आमाजस्तै माया गरे पो उनीहरु विद्यालयमा टिक्छन् । नभए विद्यालय आउनै मान्दैनन्,' काफ्लेले भनिन् ।
शिक्षण सिकाइ क्रियाकलापको मूल उद्देश्य पनि यही हो । बालबालिकालाई पढाइसँगै असल बनाउन अभिभावक, विद्यार्थी स्वयं र शिक्षकको अहम् भूमिका रहन्छ । बालबालिका अभिभावकजस्तै शिक्षकबाट माया, स्नेह र साथीजस्तो व्यवहार खोज्छन् ।
अभिभावकले आफ्ना बालबालिका र आफ्ना सपना पूरा गर्ने, गराउने आधार खडा गर्न विद्यालय र शिक्षकप्रतिको विश्वासमा विद्यालय पठाउने गरेका कर्णाली मावि टीकापुरका शिक्षक नारायण ढुङ्गाना बताउँछन् ।
'विद्यार्थी विद्यालयमा रहँदा शिक्षकलाई असल अभिभावक, असल साथी ठान्छन, अभिभावक र विद्यार्थीको शिक्षकप्रतिको यही विश्वासका कारण शिक्षक शिक्षक बन्न सकेका हुन् । हामीले जतिखेर, जहाँ पनि उनीहरुका अपेक्षा पुरा गर्नुपर्ने हुन्छ,' उनले भने ।
बालबालिकामा भएका अन्तर्निहित क्षमतालाई उजागर गर्नका निम्ति शिक्षक पुल बनेका हुन्छन् । शिक्षिका माया भट्टराई विद्यार्थीलाई पढाउँदा सङ्ख्या धेरै हुने भएकाले छलफल र अन्तक्रिया गर्न समस्या हुने गरेको बताउँछिन्।
'सामुदायिक विद्यालयमा विद्यार्थी धेरै हुँदा समस्या हुन्छ, विद्यार्थीले छलफल र प्रयोगात्मक कक्षा मन पराउँछन्,' उनले भनिन् ।
शिक्षिका दिलाकुमारी रावलले साना बालबालिका पढाइभन्दा खेल्न, दैनिक दिइने खाजा र शिक्षकको नजिक हुन मन पराउने गरेका बताइन्।
'हामीकहाँ विपन्न समुदायका बालबालिका बढी छन् । उनीहरु दिउँसो विद्यालयमा दिइने खाजा कुरेर बस्छन्, शिक्षकसँग खेल्न, कुराकानी गर्न र खेल्दै पढ्न खोज्छन्,' उनले भनिन् ।