Nic Ad Nic Ad
Nic Ad Nic Ad

बीमा रकम भुक्तानी नहुँदा ल्याब सेवा प्रभावित

शुक्रबार, माघ २७, २०७९

फुङ्लिङ- जिल्ला अस्पताल ताप्लेजुङमा समयमै स्वास्थ्य बीमाबापतको रकम भुक्तानी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य बीमा बोर्डबाट समयमै बीमादाबी भुक्तानी नगर्दा औषधि तथा अन्य आवश्यक सामग्री खरिद गर्न मुश्किल भएको छ । 

स्वास्थ्य बीमाबापतको ५६ लाखभन्दा बढी पाउन बाँकी हुँदा जिल्ला अस्पतालको ल्याब तथा फार्मेसी सेवा नै बन्द हुने अवस्थामा पुगेको अस्पताल सञ्चालन समितिका सदस्य सुवास आचार्यले जानकारी दिए ।

स्वास्थ्य बीमा बोर्डबाट अस्पताल सञ्चालन समितिले पाउनुपर्ने रकम समयमै नपाए अस्पतालले सञ्चालन गरिरहेको फार्मेसी र ल्याब सेवा बन्द हुने उनी बताउँछन् । जिल्ला करारमा जनशक्ति व्यवस्थापन गरेर फार्मेसी र ल्याब सेवा समिति आफैँले सञ्चालन गरिरहेको छ । 

जिल्ला अस्पतालका निमित्त प्रमुख विजया राईका अनुसार बीमाबापत अस्पतालले ५६ लाख ७८ हजार पाउन बाँकी छ । आर्थिक वर्ष २०७८/७९ मा ४३ लाख ४५ हजार मागदाबी गरिएकामा ५ लाख ४५ हजार भुक्तानी भएको छ ।

चालु आव २०७९/७९ को मागदाबी गरिएमध्येको कत्ति पनि रकम भुक्तानी नभएको अस्पतालले जनाएको छ । राईका अनुसार चालु आवको पुस मसान्तसम्मको १८ लाख ७७ हजार स्वास्थ्य बीमाबापतको रकम अस्पताल सञ्चालन समितिले पाउन बाँकी छ । 

समयमै बीमाबापतको रकम भुक्तानी नभएमा स्वास्थ्य बीमा सेवा बन्द गर्ने अवस्थामा पुगेको राईले बताइन् । 

'स्वास्थ्य बीमा बोर्डले चाँडै भुक्तानी दिने आश्वासन दिएको छ । समयमै भुक्तानी नभए स्वास्थ्य सेवा प्रभावित हुन्छ,' उनले भनिन् ।   

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  ०९:२६
प्रतिक्रिया दिनुहोस्