तुइन खोलाको भित्तो काट्न विस्फोटको तयारी
चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ । पुलका लागि भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ ।
तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो चट्टान छ । सो चट्टान काट्न कठिन भएपछि विस्फोट गराएर छिटो काम सक्ने योजना रहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले बताए ।
‘तुइन खोलाको देब्रेतर्फको डाँडो काट्ने काम अबको १ सातामा सक्ने गरी काम भइरहेको छ,’ उनले भने ।
दायाँतर्फको भने ४० प्रतिशत मात्रै काम भएको छ । दायाँतर्फ ६० मिटर अग्लो चट्टान थियो । काटेर २५ मिटर तल झारिएको छ । बाँकीलाई यसैगरी काट्दा लामो समय लाग्ने भएकाले विस्फोट गराउन अनुमति मागेको आचार्यले बताए ।
आयोजना प्रमुख किरण कार्कीका अनुसार विभाग हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट गृह मन्त्रालयमा फाइल पुगेको छ । त्यहाँबाट स्वीकृत भएपछि विस्फोटक पदार्थ खरिदका लागि प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।
रातको समयमा काम गर्न सकिन्छ कि ! भन्ने विषयमा पनि छलफल भइरहेको छ । जटिल ठाउँमा भएकाले घटना हुन सक्ने भन्दै रातको समयमा काम गर्ने आँट ठेकेदार कम्पनीले गरेको छैन ।
यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको देब्रेपट्टिको भित्तो काट्ने काम ८० प्रतिशत सकिएको छ । अबको १५ दिनमा काम सम्पन्न हुने अनुमान छ ।
दायाँपट्टिको भित्तो काट्ने काम सकिएको छ । पहिलो ३० दिनमा दिउँसो सवारी रोकेर काम नसकिएपछि पुनः माघ ६ गतेबाट ३० दिनका लागि दिउँसो सवारी रोकेर काम भइरहेको छ । दिउँसो १२ बजेबाट ४ बजेसम्म सवारी रोक्ने गरिएको छ ।
यही गतिमा काम भएमा थप २ महिना सवारी रोक्नुपर्ने देखिएपछि विस्फोटको तयारी गरिएको हो ।
डाँडो तल झरेकाले विस्फोट गर्दा कम क्षति हुने जनाइएको छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ । यी पुलसँगै काम थालिएका ९ वटा पुलका लागि भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन् ।
यसअघि नै सो सडकका ५ वटा पुल बनिसकेका थिए । ५ वटा पुल निर्माणाधीन छन् । सडक विस्तारसँगै पुल साँघुरो भएपछि सडकमा रहेका २० वटै पुलमा नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउमा अर्काे पुल बनाउँदै गर्दा भित्तो काट्नुपरेको हो ।
विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो । एउटा पुलको काम सुरु भएको छैन । पुलको छेउमा सुकुमबासी बसेकाले हटाउन नसक्दा काम रोकिएको हो ।
विश्व बैंकको सहयोगमा काम गर्दा क्षतिपूर्ति दिलाएर मात्रै काम गर्नुपर्ने प्रावधान छ । कार्कीका अनुसार क्षतिपूर्तिका लागि १ करोड हाराहारी खर्च हुन्छ । रकम माग गरिएको भए पनि प्राप्त हुन नसक्दा काम सुरु गर्न नसकिएको हो ।
२०८० पुससम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । सुरुमा ३३ महिनाका लागि सम्झौता भए पनि काम सम्पन्न नभएपछि हालै १ वर्ष समय थप गरिएको छ ।
सो सडकका १५ वटा पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनले बोलपत्र प्राप्त गरेको छ । पुल निर्माणका लागि लागत १ अर्ब २२ करोड हाराहारी छ ।
सो सडकमा यसअघिका पुल साँघुरा थिए । अहिले बनाइएका पुल ११ मिटर फराकिला छन् । सडक ९ देखि ११ मिटर फराकिलो छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवागमन गर्छन् ।