अर्थमन्त्रीको दाबी –आर्थिक अवस्था राम्रो नभए पनि आत्तिनु पर्दैन
काठमाडौँ –उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उद्योगी व्यवसायीहरूको समस्याप्रति सरकार र राष्ट्र बैंक गम्भीर र चिन्तित रहेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २३ औं साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीको समस्यालाई कम गर्न राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सहुलियतको योजना तय गरेको बताए ।
ऋणीहरूको समस्यालाई केही सम्बोधन गर्न २०८० जेठ मसान्तसम्मका लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा÷ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिएको उनले बताए । राष्ट्र बैंकले अघि सारेका नीतिले थौरै भए पनि व्यवसायीको समस्याप्रति राष्ट्र बैंक सकारात्मक रहेको संकेत गरेको उनको भनाइ छ ।
अहिले मुलुकको आर्थिक अवस्था राम्रो नभए पनि आत्तिनु पर्ने अवस्था नरहेको भन्दै अर्थमन्त्री पौडेलले सबै मिलेर प्रतिकुलताका बेला धैर्यताका साथ काम गर्नुपर्नेमा जोड दिए । उनले वर्तमान सरकारले निजी क्षेत्रका समस्यालाई सुनेर समाधानका लािग पहलकदमी लिने प्रतिवद्धता जनाए ।