यु–२० महिला साफ च्याम्प्यिनसिप स्वदेश फर्किए
काठमाडौँ –बंगलादेशमा आयोजना भएको यु–२० महिला साफ च्याम्प्यिनसिपमा उपविजेता बनेको महिला टोली शुक्रबार स्वदेश फर्किएको छ ।
बंगलादेशको मुस्ताफा कमल स्टेडियममा बिहीवार भएको फाइनल खेलमा आयोजक बंगलादेशसँग ३–० ले पराजित भएसँगै नेपाल उपविजेतामा भएको थियो । सोही टोली शुक्रबार नेपाल फर्किएको हो ।
२३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोलीलाई त्रिभुवन विमानस्थालमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरे । विमास्थलमा ओर्लिएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले समग्रमा खेलाडीको प्रदर्शनमा सन्तुष्ट रहेको बताए ।
खेलाडीले अनुभव लिने मौका पाएको भन्दै प्रशिक्षक गुरुङले कुनै पनि उमेर समूहको प्रतियोगिता नखेलेको टोली बनाएर खेलाउँदा आपूm सफल भएको बताए ।
प्रशिक्षक यामप्रसाद गुरुङले फ्लड लाइट, मैदान र म्याच बलका कारण नेपाली खेलाडीले स्वभाविक खेल खेल्न नसकेको स्वीकार गरे ।
माघ २० देखि शुरु भएको प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत र भुटानको सहभागिता रहेको थियो । राउन्ड रोबिन पद्दतिमा खेल भएको थियो । बंगलादेश शीर्ष तथा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेका थिए । पहिलो खेलमा पनि पराजित भएको नेपालले फाइनलमा बंगलादेशसँग पराजित भएको हो । फाइनलमा बदला लिने लक्ष्यसहित मैदान उत्रिए पनि अनुभवको कमीका कारण सफल हुन नसकेको कप्तान प्रिति राईले बताइन् ।
सम्पन्न संस्करणमा मात्र नेपाल बंगलादेशसँग दुई पटक स्तब्ध हुन पुग्यो । यसअघि यु–१८, यु–१९ को नामले आयोजना भएको प्रतियोगिता यो संस्करण यु–२० को नाममा साफले आयोजना गरेको हो । यससँगै बंगलादेशले उमेर समूहको प्रतियोगितामा तेस्रो पटक सफलता हात पारेको छ । यस अघि बंगलादेशले २०१८ र २०२१ मा उपाधि जितेको थियो । नेपाल भने दोस्रो पटक उपविजेता भएको छ । सन २०१८ मा भएको पहिलो संस्करणमा पनि नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।