Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेनी–गलेश्वर सडक दैनिक साढे ६ घण्टा बन्द रहने

शुक्रबार, माघ २७, २०७९

म्याग्दी –भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत पर्ने बेनी–गलेश्वर सडक दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ ।  

नियमित सञ्चालन गर्दा सडक स्तरोन्नतिको कामलाई बाधा पुगेको ठेकेदारको लिखित जानकारीपछि शुक्रबार प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा बसेको बैठकले बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय तालिका बनाएको हो । प्रजिअ पौडेलले शिवरात्रीको दिन बिहानैदेखि नियमित सडक सञ्चालन हुने र ठाँउठाउँमा मर्मत समेत गरिने बताए ।   

बैठकले फागुन १ देखि १५ गतेसम्म बिहान ६ बजेदेखि ८ बजेसम्म, दिउँसो ११ः३० बजेदेखि १ः३० बजेसम्म र राती ८ः३० बजेदेखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताए । उनका अनुसार एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई तत्कालै खुलाउने र साना सवारी डल्लेपिपल–राहुवडा–गलेश्वर वैकल्पिक मार्गको व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ ।  

सडक विस्तारको काम र यातायात सञ्चालन सँगै हुदाँ दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माण कार्यतालिका नै प्रभावित भएपछि सडक फराकिलो बनाउन पहाड काट्ने र डिलतर्फ पर्खाल बनाउने काम सकिएपछि अर्को बैठकले खुल्ला गर्ने बताए ।  

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले २ किलोमिटर १०२ मिटर दुरीको बेनी–गलेश्वर सडक विस्तार र कालोपत्र गर्न जय धन्नजय–मंगलादेवी–सुवास जेभीसँग १२ करोड २५ लाख ९४ हजार ४३६ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता लगत्तै तिब्रता दिएको निर्माण कम्पनीका प्रतिनिधि सुवास कार्कीले बताए ।

२ वर्षको अवधिमा सडकलाई ११ मिटर फराकिलो बनाएर नाली, पहिरो रोकथाम गर्न पर्खाल र खोल्सामा कल्भर्ट तथा ८ मिटर चौडाईमा कालोपत्र गरिने छ ।  

बेनी नगरपालिकाको ८, ६ र ९ नम्बर वडाको भूगोल समेटिएको ३किलोमिटर दुरिको यो सडक २०५३ सालमा मार्ग खुलेको थियो । यो म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर, रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दु हो ।  

४ देखि ६ मिटर फराकिलो सडकको धेरै ठाउँमा ठूला गाडी २ तर्फी आवत जावत नहुने, फस्ने र जाम हुने गर्दछन् । गण्डकी प्रदेशको लाइफलाइन मानिएको सडकखण्ड अन्तरगत बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङका बासिन्दा, तिर्थयात्री र पर्यटकले प्रयोग गर्दछन् ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १९:५२
प्रतिक्रिया दिनुहोस्