माओवादी केन्द्र मधेस प्रदेशको बैठक भोलि
काठमाडौँ – नेकपा माओवादी केन्द्रको मधेस प्रदेशको बैठक शनिबार बस्दैछ । मधेश प्रदेशका इन्चार्ज गणेश साहका अनुसार महोत्तरीको बर्दिबासमा बैठक लबस्नेछ ।
बैठकमा हालै सम्पन्न स्थायी कमिटीले गरेको निर्णयबारे जानकारी गराइने छ । बैठकमा मधेस प्रदेशभित्रका केन्द्रीय सदस्यहरूको उपस्थित रहने छ । मधेसमा हालसम्म प्रदेश कमिटी गठन नभएकाले प्रदेशमा रहेका केन्द्रीय सदस्यहरूलाई सहभागी गराउन लागिएको इन्चार्च साहले बताए ।
बैठकलाई पार्टी महासचिव देव गुरुङले सम्बोधन गर्नेछन् । पार्टीको महाभिवेशन भएको एक वर्ष बितिसक्दा पनि आन्तरिक विवादका कारण मधेस प्रदेशमा माओवादीले प्रदेश कार्यसमिति चयन हुन सकेको छैन ।
पार्टी संगठन बलियो बनाउन माओवादी केन्द्रले चलाउन लागेको दुई महिने अभियानको कार्ययोजनाबारे पनि बैठकमा छलफल हुनेछ । त्यसअनुसार जिल्ला इन्चार्जको नेतृत्वमा पालिकास्तरमा अभियान सञ्चालन गरिने छ ।
बैठकमा माओवादी उपमहासचिव गिरिराजमणि पोखरेल र नेता मात्रिका यादवलाई पनि आमन्त्रण गरिएको छ ।