Nic Ad Nic Ad
Nic Ad Nic Ad

दिनभरी जनताको काम, साँझ बिहान बारीमा

शनिबार, माघ २८, २०७९

तुलसीपुर– दिनभरी वडाको काममा व्यस्त । जनतासँग भेटघाट र साक्षात्कार । दिनभरको खटाइले थकान महसुस हुँदा थकाइ बिसाउने ठाउँ बनेको छ तरकारी खेती । तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष खुसीराम चौधरीको बारीमा लटरम्म टमाटर फलेका छन्, प्याजका बेर्ना उम्रिदै छन् । 

samridhi jewllers

पुर्खौदेखि तरकारी खेती गर्दै आएकाले पनि होला कचिला निवासी खुसीरामले जनप्रतिनिधि हुँदा पनि तरकारी खेतीलाई समय दिनुहुन्छ । 

‘म जनप्रतिनिधि हुँदा पनि यो काम जारी छ, यो काम दिनभरको थकान भुलाउने माध्यम पनि बनेको छ,’ उनले भने ।  वडाध्यक्ष चौधरी बिहान ४ बजे उठेर बारीमा फलेका तरकारी लिएर बजारसम्म पनि पुग्छन् ।

‘जनप्रतिनिधि होस्, या अरु कुनै पेसा व्यवसायमा हात हालेको व्यक्तिले प्रायः खेतबारीमा काम गरेको देखिँदैन, तर, म भने उत्पादनमा जोडिनु पर्छ, ता की यो कुराले अरुलाई पनि शिक्षा होस् भन्ने चाहन्छु,’ उनले भने ।   

करिब ३ कट्ठामा उनले गोलभेँडा खेती गरेका छन् । अन्यमा खुर्सानी, प्याज, लसुन लगाएका छन् । चौधरीको २२ कट्ठा जग्गामा बर्सेनि ३ बाली खेती हुन्छ । तरकारी खेतीका हिसाबले उत्तम मानिएको कचिलामा बेमौसमी तरकारी बढी हुन्छ । 

उनले मङ्सिरदेखि वैशाखसम्म दैनिक ६० किलो गोलभेँडा निकालेर बजारमा बिक्री गर्छन् । हाल किलोको ३० मात्रै पर्न जान्छ । भारतीय तरकारी भित्रिदा नेपाली उत्पादनले बजार नपाउने गरेको उनको गुनासो छ । 

‘हामीले उत्पादन गरेको तरकारीले बजार पाउँदैन्, भण्डारणका लागि ‘कोल्डस्टोर’ पनि छैन, त्यसैले सस्तो मूल्यमा कृषिजन्य सामग्री बेच्नुपर्छ,’ उनले भने । 

तरकारी बेचेर उनले वार्षिक ६/७ लाख आम्दानी गर्दै आएका छन् । त्यहाँ सिँचाइको पनि राम्रो प्रबन्ध छ । बबई नदीको पानी लिफ्टिङबाट निकालिएको छ भने ग्वारखोलाको पानी कुलोमार्फत लगिएको छ । 

जबसम्म आफू पनि उद्यमशील बन्न सकिँदैन समृद्धिका भाषणले सार्थकता नपाउने उनको भनाइ छ । ‘हामी धेरै समृद्ध नेपाल बनाउने भनेर भाषण गर्छौ, तर भाषणले मात्रै समृद्ध हुन सकिदैन, आफैँ पनि उद्यममा जोडिनुपर्छ,’ उनले भने । 
 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ०७:१५
प्रतिक्रिया दिनुहोस्