वालिङबाट बसाई सरेर अन्यत्र जानेको संख्या बढ्याे
वालिङ- स्याङ्जाको वालिङ नगरपालिकाबाट बसाई सरेर अन्यत्र जानेको संख्या बढेका छन् । गत वैशाखदेखि माघको तेस्रो सातासम्म वालिङबाट ७७२ घर धुरी बसाई सरेर गएका हुन् । उक्त घरधुरीका २ हजार ८९८ जना बसाई सरेका नगरपालिकाको पञ्जीकरण शाखाका अपरेटर पदम पराजुलीले जानकारी दिए।
२०७८ मा वालिङबाट २४६ घरधुरीका ९४४ जना बसाई सरेर अन्यत्र गएकामा यस वर्षको हालसम्म २ हजार ८९८ जना गइसकेका छन् । बसाई सरेर अन्यत्र जानेको तुलनामा अन्यत्रबाट बसाई सरेर आउने पनि छन् ।
बसाई सरेर आउनेभन्दा जानेको संख्या बर्सेनि बढ्दोक्रममा रहेको छ । गत वर्ष ११६ घरधुरीका ४३७ जना र २०७९ को हालसम्म २९४ घरधुरीका १ हजार ११६ जना बसाईं सरी आएका तथ्यांक रहेको उनले जानकारी दिए ।
१४ वटा वडा रहेको नगरपालिकाका केही वडामा बजार विस्तार हुने क्रम बढ्दो छ । केही वडा ग्रामीण र विकट छन् । ग्रामीण भेगका वडाबाट बजारतिर बसाई सर्ने क्रम बढ्दै गएको छ । बजारबाट अझै ठुला सहरमा बसाइँसराइ गर्नेको संख्या पनि उत्तिकै छ ।
यस वर्ष ग्रामीण वडाका रुपमा रहेको वालिङ १२ बाट १४३ घरधुरीका ५७९, वडा नं १४ बाट १३६ घरधुरीका १९९ जना बसाई सरेर गए । यस वर्ष सबैभन्दा थोरै वडा नं ३ बाट २८ घरधुरीका ८८ जना बसाई सरे । विसं २०७८ मा वडा नं. १४ का ३८ र १२ का ३६ घरधुरी बसाई सरेर गए । १२ बाट १५३ जना र १४ बाट १४९ जना बसाई सरेका उनले जानकारी दिए
स्थानीयस्तरमा रोजगारी, उच्च शिक्षा, स्वास्थ्य तथा लगानीजस्ता विषयलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई बताउँछन् । ग्रामीण भेगबाट स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसायका लागि बजार आउने क्रम बढ्दो रहेकाले स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गर्ने, प्राविधिक शिक्षालय सञ्चालन गर्ने, सुविधासम्पन्न मेडिकल कलेज, यही लगानी गर्ने वातावरण कसरी निर्माण गर्न सकिन्छ त्यतापट्टी ध्यान दिनुपर्ने धारणा उनको छ ।
'यहाँको विकासका लागि पनि जनसंख्या आवश्यक पर्छ, स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसाय, लगानी गर्ने वातावरण बनाई छिमेकी पालिकालाई पनि आकर्षित गर्दै अगाडि बढ्नु आवश्यक छ', उनले भने । वालिङबाट विभिन्न कारणले मानिस अन्यत्र बसाई सरेर जानुलाई आफूले गम्भीर ढङ्गले लिएको नगर प्रमुख कृष्ण खाँणले बताए।
'वालिङमा अन्यत्रबाट बसाई सरेर आउनेभन्दा जानेको संख्या धेरै हुनु पक्कै पनि हाम्रा लागि राम्रो होइन, बसाइँसराइका कारण के के हुन् पहिचान गरी कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्छौँ ', उनले भने ।
पछिल्लो समय आर्थिक सम्पन्नताका कारण पनि केही मानिस ठुला सहरमा शिक्षादीक्षा, स्वास्थ्य उपचार, रोजगारी, व्यापार व्यवसायका लागि जाने चलन बढेको उनी बताउँछन्।
बसिरहेको ठाउँ आफू अनुकूल नहुनु, परिस्थिति फेरिनु, सोचेजस्तो नहुनु, आफन्त इष्टमित्र जता धेरै हुनुहुन्छ उतै बसाई जानु, स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसायजस्ता सामाजिक तथा व्यक्तिगत कारणले मानिस पहुँच पुग्ने ठाउँमा बसाई सरेर जाने गरेका छन् ।