Nic Ad Nic Ad
Nic Ad Nic Ad
टर्की–सिरिया भूकम्प

भग्नावशेषमा पुरिएका केहीको जीवितै उद्धार

मृतकको सङ्ख्या २३ हजारभन्दा माथि
शनिबार, माघ २८, २०७९

काठमाडौँ –टर्की र सिरियामा भूकम्पमा परेर मृत्यु हुनेहरूको सङ्ख्या २३ हजारभन्दा माथि पुगेको छ ।

गत सोमबारको भूकम्पमा परि अहिलेसम्म २३ हजार ७०० जनाको मृत्यु भइसकेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था अलजजिराले जनाएको छ ।

धेरै मानिसहरू अझै  पनि भग्नावशेषमा पुरिएको आशङ्कामा खोजी तथा उद्धारको काम भइरहेको छ ।

चिसो र वर्षाका बाबजुत पनि उद्धारकर्मीले खोजी अभियानलाई निरन्तरता दिइरहेका छन् । उद्धारकर्मीले भग्नावशेषबाट केहीलाई जीवितै उद्धार गरेका छन् ।

भूकम्प गएको ९० घण्टापछि एक जना नवजात शिशु र उनकी आमाको जीवितै उद्धार भएको छ । यसअघि भूकम्प गएपछि भग्नावशेषभित्र जन्मिएकी एक शिशुको ३० घण्टापछि उद्धार भएको थियो ।

यस्तै, १०४ घण्टापछि एक जना ६० वर्षका पुरुषको जीवितै उद्धार गरिएको उद्धारकर्ताले जनाएका छन् । टर्कीको दक्षिणी हाते प्रान्तमा भग्नावशेषमा पुरिएका ६ जनालाई पनि जीवितै उद्धार गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा विश्वभरबाट राहत तथा सहयोग पुग्ने क्रम चलिरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्